वर्ल्ड नेवाः डेकाे अवसरमा पत्रकारद्वय स्थापित र विजयरत्न लगायत पुरस्कृत



काठमाडौं,१६ चैत । विश्वभर रहेका नेवाः समुदायले संयुक्त रुपमा प्रत्येक वर्षको इस्वी संवतको मार्च महिनाको अन्तिम शनिबार मनाउँदै आइरहेको हलिं नेवाः दिवस अर्थात वर्ल्ड नेवाः डेकाे अवसरमा साहित्य एवं पत्रकारिता क्षेत्रका अग्रज रमेशकाजी स्थापितलाई ‘भिम तुलसी नेपालभाषा पत्रकारिता सिरपाः’ तथा संचार जगतमा उल्लेखनीय योगदान गर्नुहुने अग्रज सिने पत्रकार  विजयरत्न तुलाधर असंबरेलाई ‘हरिश्चन्द्र लुमन्ति सिरपाः’ प्रदान गरिएको हो ।

हरेक वर्ष मनाइने याे दिवस   यस वर्ष मार्च २८ तारिख शनिबार परेको हो । यस वर्षको नवौं हलिं नेवाः दिवसको नारा ‘विश्वभर जहाँ रहे पनि हामी नेवाः’ रहेको छ ।

उक्त कार्यक्रममा काठमाडौं महानगरपालिकाकी कार्यबाहक नगर प्रमुख सुनिता डंगोल प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएकी हुन् भने डंगोलकै हातबाट’ पुरस्कार  प्रदान गरिएकाे हाे।

काठमाडौंको बसन्तपुरमा आयोजित साे समारोह  नवौं हलिं नेवाः दिवस काठमाडौं महानगरपालिकाकी कार्यबाहक नगर प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजक हलिं नेवाः दबू नेपाः मू कवःका अध्यक्ष रमेशमान मुनिकारको सभापतित्वमा भएको थियो ।

कार्यक्रममा नेवाः संस्कृति, ब्यापार व्यवसाय, कला एवं अन्य विधामा उल्लेखनीय योगदान गरी भाषा, जाति, संस्कृतिको विकास एवं संरक्षण गर्नुहुने विभिन्न व्यक्तित्वहरुलाई सम्मान एवं पुरस्कारबाट सम्मानित गरेका हुन् ।

यही क्रममा लाेकप्रिय गायिका एवं संगीतज्ञ रिता महर्जन लाई रमेश ताम्राकार लुमन्ति सिरपा ,    बरिष्ठ नाट्यविद् वीणा जोशी राजभण्डारीलाई ‘सबिता महर्जन मुनिकार लुमन्ति सिरपाः’, संगीतकार जुगल डंगोललाई ‘जयराम श्रेष्ठ लुमन्ति सिरपाः’, ‘अमृता शाक्य सिर्जना सिरपाः’ रिता दुवाललाई प्रदान गरिएको हो भने एन आर एन ए उपाध्यक्ष रोजिना प्रधान राईलाई विशेष पुरस्कारबाट सम्मानित गरिएको हो ।

कार्यक्रममा समाजका थीथी क्षेत्रमा योगदान भएका व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा पर्यटन व्यवसायी योगेन्द्र शाक्य, कार्डियोलोजिष्ट डा. राजेन्द्र कोजु, फिल्मका एक्शन डाइरेक्टर राजेन्द्र खडगी, फिल्मकर्मी रजिला श्रेष्ठ, होटल व्यवसायी संगीता श्रेष्ठ, उद्योगी प्रदिप कुमार श्रेष्ठ, गणेश भैरव व्यवस्थापन समिति, भाषाविद् विष्णु चित्रकार, सगरमाथा आरोही पूर्णिमा श्रेष्ठ एवं प्रतिनिधिसभा सदस्य तेस्रो लिङ्गी भूमिका श्रेष्ठलाई सम्मान गरिएको हो ।

कार्यक्रममा मन्तव्य राख्ने क्रममा काठमाडौं महानगरकी कार्यबाहक प्रमुख एवं प्रमुख अतिथि सुनिता डंगोलले विश्वभर रहेका नेवाः समुदायबीचको यो एकता उल्लेखनीय रहेको विचार राख्नुभएको थियो । यस्तै कार्यक्रममा हलिं नेवाः दबूका केन्द्रीय संरक्षक नेपालभाषा एकेदेमिका चान्सलर मल्ल के सुन्दरले हलिं नेवाः दिवस मनाउने परम्पराले निरन्तरता पाइरहेको विषयप्रति प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा सभापति एवं आयोजक हलिं नेवाः दबू नेपाः मू कवःका अध्यक्ष रमेश मुनिकारले स्वागत मन्तव्य राख्नुभएको थियो भने सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ, एन आर एन ए उपाध्यक्ष रोजिना राई प्रधान लगायतका व्यक्तित्वहरुले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा गायक नरेनमान महर्जन एवं सत्यनारायण मानन्धर , सरस्वति मानन्धर    लगायत अन्य कलाकारहरुले सांगितिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्