महाकाव्यकार सोमराज अभयको चौथो महाकाव्य ‘शेषराज दाइ’ लोकार्पित



बिराटनगर,२५ कार्तिक। महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औँ जन्म जयन्तीको पूर्व सन्ध्याको अवसर पारेर महाकाव्यकार सोमराज अभयको चौथो महाकाव्य “शेषराज दाइ’लोकार्पण भएको छ।

छन्दवाटिका नेपालको आयोजनामा बिराटनगरमा आयोजित एक कार्यक्रमकाबीच प्रमुख अतिथि प्रा.डा. टङ्क न्यौपाने लगायत अन्य अतिथिहरुले अभयकृत सो कृतिको मंगलबार संयुक्त रूपमा लोकार्पण गरेका हुन्।

छन्दवाटिका नेपालका अध्यक्ष हरि कट्टेलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा लोकार्पित सो कृतिको समिक्षा गर्दै समालोचक डा.दिपक न्यौपानेले सोमराज अभय को यो कृति वैचारिक र समाजले भोगेको समयको यथार्थ धरातलमा आएको बताए । एघार सर्गहरू रहेको यो महाकाब्यमा भाषा शैली परम्परागत भए पनि कथा र विचारका दृष्टिले राम्रो रहेको उनको भनाई थियो।

कृतिका बारेमा बोल्दै प्रा.डा.हरिहर भण्डारीले अभय मोरङका सबैभन्दा बढी महाकाव्य लेख्ने कवि भएको बताए ।

लोकार्पण कार्यक्रममा प्राज्ञ विवश पोखरेल, प्रा.डा मेदिनी शर्मा,प्रा कविराज न्यौपाने,प्रगतिवादी साहित्यकार रामप्रसाद खरेल,डा. देवी पन्थी,अग्रज साहित्यकारहरू बलराम पोखरेल,डमरु बल्लभ भण्डारी, कुशेश्वर राई,सरला चापागाईं लगायतको उपस्थिति थियो।

संस्थाका सचिव चिरञ्जीवी काफ्लेले सञ्चालन गरेको सो कार्यक्रममा इटहरी,बेलबारी,सुन्दर हरैंचा,इनरुवा र विराटनगरका साहित्यकारहरूको बाक्लो उपस्थिति रहेको थियो ।

छन्द वाटिका नेपालले संस्थाको स्थापना भएदेखि नै महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म दिन कार्तिक २७ गतेलाई आधार मानेर बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्