किरण आचार्यद्वारा लिखित ‘जरत्कारू’ उपन्यासमाथि परिचर्चा सम्पन्न
काठमाडौं,२० बैशाख।किरण आचार्यद्वारा लिखित’जरत्कारू’उपन्यासमाथि परिचर्चा गरिएको छ।

साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा शुक्रबार सम्पन्न परिचर्चा कार्यक्रममा प्रमुख व्यक्तित्व भाषा आयोगका पूर्व अध्यक्ष डा.लवदेव अवस्थी रहेका थिए।अवस्थीले जरत्कारू उपन्यास पूर्वीय दर्शनमा आधारित भएको र पौराणिक पात्र र कथासँग सम्बन्धित रहेकोले यसको विशेष महत्त्व रहेको बताए।
कार्यक्रममा पौराणिक पात्र जरत्कारूका बारेमा उपन्यासका भूमिका लेखक समेत रहेका समालोचक प्रमोद प्रधान तथा आख्यानकार नयनराज पाण्डेले संक्षेपमा समालोचकीय टिप्पणी गरेका थिए।
सभापतिको आसनबाट बोल्दै अध्यक्ष लेकालीले उपन्यासकार किरण आचार्यको व्यक्तित्व तथा कृतित्वका बारेमा संक्षेपमा प्रकाश पारेका थिए।साथै,उनले किरण आचार्यबाट अरू थप पौराणिक कृतिहरू जन्मिने अपेक्षा गरेको बताए।
त्यसैगरी,अन्य विशिष्ट व्यक्तित्वहरूमा समालोचकद्वय प्रमोद प्रधान तथा प्रा.डा गोविन्दमानसिंह कार्की,आख्यानकार नयनराज पाण्डे,उपन्यास समाजका अध्यक्ष शंकर भारती तथा पत्रकार एवम् लेखक राजकुमार बानियाँ लगायतको उपस्थिति रहेको थियोे।
उपन्यासकार किरण आचार्यले उपन्यास लेखन यात्राबारे बोल्दै कोभिडको महामारीको बेला तथा डक डाउनको अवस्थामा उक्त उपन्यास लेखिएको बताइन्।साथै,उनले यस अघिका पौराणिक उपन्यासहरू’अहल्या’ तथा ‘परशुराम’का बारेमा समेत संक्षेपमा प्रकाश पारेकी थिइन्।
उपन्यासकार किरण आचार्य नेपालगन्जमा बसेर साहित्यको साधना गर्दै आएकी छिन्।
कार्यक्रममा प्रा.डा गोविन्दमानसिंह कार्की,राजकुमार बानियाँ तथा शंकर भारतीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा साहित्यिक पत्रकार सङ्घको तर्फबाट नेपाल लेखक सङ्घका नवनिर्वाचित अध्यक्ष वियोगी बुढाथोकीलाई स्वागत गर्दै बधाई दिइएको थियोे।
अनामनगरस्थित डालो रेष्टुरेन्टमा भएको सो कार्यक्रमको
सहजीकरण तथा सञ्चालन सुभाषचन्द्र पौडेल’भीमफेदीया’ ले गरेका थिए।