सरकार शिक्षकबीचको पहिलो चरणको बार्ता सम्पन्न, छलफलमा भएन खासै प्रगति
काठमाडौँ,१३ बैशाख । आन्दोलनरत शिक्षक र सरकारबीच सिंहदरबारमा भएको पहिलो चरणको वार्ता सकिएको छ।

२५ दिनदेखि काठमाडौंमा आन्दोनरत शिक्षकका माग सम्बोधनका लागि शिक्षामन्त्री रघुजी पन्तको आह्वानमा शनिबार बिहान भएको वार्ता सकारात्मक ढंगले अगाडि बढेको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए।
‘छलफल भयो। फेरिफेरि छलफल गर्ने गरी अहिलेको छलफल सकिएको छ। फेरि कहिले छलफल गर्ने भन्ने समय तोकिएको छैन’, वार्तापछि पत्रकारलाई छोटो प्रतिक्रिया दिँदै अध्यक्ष सुवेदीले भने।हामीले मन्त्रालयमा उपस्थित भएर हाम्रा कुरा राख्यौँ । अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउनु नै आन्दोलनको अडान हो । र, यसबाट नेपाल शिक्षक महासंघ टसमस नहुने जानकारी गरायौँ,’ उनले भने ।
अध्यक्ष सुवेदीले अब आन्दोलनलाई जारी राख्ने बताए । ‘हाम्रो आन्दोलन जारी छ । आज पनि हामीले प्रदर्शन गर्छौं,’ उनले भने,’ थुप्रै असजिला छन् । आन्दोलन आफैँमा कठिन कार्य हो तर यसपटक हामी वार कि पारको लडाइँमा छौँ ।’
बैठकमा शिक्षामन्त्री पन्तले शिक्षकहरूले उठाएका माग सम्बोधनका लागि आफूले सक्दो पहल गर्ने बताएका थिए । ‘तपाईंहरूका मागबारे म जानकार पनि छु । थप केही कुरा बुझ्ने मौका पनि मिल्यो । सम्भव हुने माग सम्बोधनका लागि मैले कोसिस गर्छु,’ मन्त्री पन्तले भने ।
शिक्षा मन्त्रालयमा विभागीय मन्त्री पन्तको उपस्थितिमा शिक्षा सचिव दीपक काफ्ले, शिक्षक महासंघकी सहअध्यक्ष तथा आन्दोलनकी संयोजक नानुमाया पराजुली र महासचिव तुलाबहादुर थापा सहभागी थिए। शिक्षकले चैत २० गतेदेखिको आन्दोलनलाई निरन्तरता दिँदै आएका छन्।