झापाको शिवसताक्षीमा बस दुर्घटना,२२ जना घाईते



झापा,१३ बैशाख । झापाको शिवसताक्षीमा बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

काठमाडौंबाट झापा आइरहेको प्रदेश १-०१००१-ख४२ नम्बरको रात्रिबस शनिबार बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका-९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलनकुमार केसीका अनुसार दुर्घटनामा २२ जना यात्रु घाइते भएका छन्। घाइतेको उपचार विर्तामोडस्थित विर्तासिटी हस्पिटल र बीएण्डसी हस्पिटलमा भइरहेको उनले बताए।

दुर्घटनामा काठमाडौंमा जारी शिक्षक आन्दोलनबाट घर फर्किरहेका १६ जना शिक्षक घाइते भएका घाइतेमध्येका शिक्षक लीलाप्रसाद भण्डारीले जानकारी दिए। प्रहरीका अनुसार शिक्षक गोपाल खतिवडाको अवस्था चिन्ताजनक छ ।

बस अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ। बसचालक महेन्द्र कन्दङ्वालाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए। घटनालगत्तै झिलझिले इलाका प्रहरी कार्यालयको टोली पुगेर घाइतेको उद्धार गरेको थियो।

प्रतिक्रिया दिनुहोस्