कथित मधेसवादीहरुले मधेस आन्दोलनलाई अपहरण गरेको पूर्ब गृह राज्यमन्त्री अन्सारीको आरोप
जनकपुरधाम । नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृह राज्यमन्त्री मो.रिजवान अन्सारीले उत्पीडित जनताको राज्यसत्ता स्थापनाका लागि वैकल्पिक महागठबन्धन वा मोर्चा आफूहरुले बनाउन लागेको बताएका छन् । उनले उत्पीडित जनताको वास्तविक मोर्चा घोषणा गर्ने बताएका हुन् ।

चार राजनीतिक दलहरु नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल,नेपाल सद्भावना पार्टी र नेपाल जनजागृति पार्टीले शनिबार संयुक्तरुपमा जनकपुरधाममा आयोजना गरेको ‘संघीय लोकतान्त्रिक व्यवस्थाको रक्षा गर्दै थप अधिकार प्राप्तिका लागि उत्पीडित जनताको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा अन्सारीले सो कुरा बताएका छन् ।
हालै मधेस केन्द्रित सात राजनीतिक दलले घोषणा गरेको संघीय लोकतान्त्रिक मोर्चाप्रति कटाक्ष गर्दै उनले भने, ‘सात दलले घोषणा गरेको मोर्चा कथित मधेसवादी र अवसरवादीहरुको समूह रहेको छ । तिनीहरु जहिले पनि मधेशी जनताको आन्दोलनलाई अपहरण गरी बेइमानी गरे ।’
उनले मधेसको नेतृत्व कहिल्यै पनि वास्तविक मधेसीको हात नआएको भन्दै कतिथ मधेशवादीहरुले मधेशको आन्दोलनलाई अपहरण गरेको आरोप लगाए । सात दलको मोर्चामा रहेका नेताहरु पटक–पटक कैयौंपटक मन्त्री भए तर उत्पीडित जनताको पक्षमा कुनै काम गरेको उनको आरोप थियो ।
‘अहिले पनि घोषणा भएको मोर्चाको अनुहार हेर्नुस्, यिनी संकीर्णताबाट माथि कहिल्यै उठ्न सकेनन् । यिनीहरुको मोर्चामा दलित, मुस्लिम, पिछडावर्गको नेतृत्व छैन । यिनीहरु आफूलाई जहिले पनि संकीर्ण राखे, जसकारण नेपालका सिंगो उत्पीडित जनताले जहिले पनि घाटा बेहोर्नुप¥यो ।’ उनले थपे, ‘कथित मधेशवादी वास्तवमा संकीर्ण हुन् ।’
उनले भने,‘अहिलेको आवश्यकता भनेको बृहत रुपमा देशमा रहेका सम्पूर्ण उत्पीडित शक्तिलाई एक ठाउँमा जम्मा गर्ने र त्यसपछि अधिकारका लागि राज्यसँग संघर्ष गर्ने,निर्वाचनमा पनि जाने । अनि मात्रै संसदमा पनि उत्पीडित जनताको सही प्रतिनिधित्व हुन्छ ।’ विसर्जनवादीहरु छोडिसकेका मुद्दाहरुलाई अगाडि बढाउने बताउँदै अन्सारीले यिनीहरुको अकर्मण्यताका कारण २२ जिल्लाको मधेश आज आठ जिल्लामा सीमित भएको आरोप लगाए ।
सो अन्तरक्रिया कार्यक्रममा नेपाल संघीय समाजवादी पार्टीका केन्द्रीय महासचिव अनन्त राई, मधेशका सांसद एवं पूर्वगृह, सञ्चार तथा कानूनमन्त्री विमला अन्सारी, बहुजन एकता पार्टी, नेपाल सद्भावना पार्टी र जनजातृति पार्टीका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए ।

