राजन सिलवालका मुक्तकहरु



१.श्रृंगार रस
तिमी र म हुनु, छाता नहुनु, पानीले चुटेको मन पर्छ
कोठाभित्र ठट्टा गर्दा तिमीले हल्का कुटेको मन पर्छ
तिमीलाई विमानस्थलसम्म पु–याउँदै गर्दा नि दुख्छ मुटु
श्रद्धा ! थोरै विलम्ब हुँदा तिम्रो जहाज छुटेको मन पर्छ ।

२.श्रृंगार रस
हुनै सक्दैन, तिमी वियोगमा म रनवन डुल्ने भन्ने कुरा
आत्मीयताको हदमा भर पर्छ कति खुल्ने भन्ने कुरा
म एकफेर माफ माग्छु ईश्वरसँग तिम्रो पापको लागि
असम्भव छ प्रिये–कृष्णले राधालाई भुल्ने भन्ने कुरा ।

१.करूण रस
लिएँ तिम्रा पत्थरहरू नि अनमोल फल सम्झिएर
मेरो विश्वासलाई अटल, तिम्रोलाई चल सम्झिएर
जति बाँकी थियो आँखाबाट बग्न बाँकी अश्रुधार
चढाएँ मेरो हृदयकी उनै देवीलाई जल सम्झिएर ।

२.करूण रस
जे उधारेर गयो समयले त्यो सिउने बानी परिसक्यो
मदिरा मानेर आफ्नै आँशु, पिउने बानी परिसक्यो
बाधा हुन्नँ राधा, तिमी खोजी रहू आफ्नो कृष्णलाई
मलाई सत्ते, तिम्रो अभावमै जिउने बानी परिसक्यो ।

१.हास्य रस
हरेक कुरामा जाल गर्छन् यी, झेल गर्छन्
फेललाई पास, पासलाई भने फेल गर्छन्
शम्भु ! के हुन्छ परिणति उनीहरुको जो
सुतेका बाघलाई जिस्क्याउने खेल गर्छन् ।
२.हास्य रस
भित्र भित्रै हात्ती भन्ठानेर बाहिर सियो हुँ भन्छ भने
परिधिबाहिर रहनेले पनि आफू मियो हुँ भन्छ भने
मेरो त उसलाई हेरेर फिस्स हाँसी दिन मन लाग्छ
निभ्दो चुरोटको ठुटोले नि म दियो हुँ भन्छ भने ।

१.रौद्र रस
हिमाल अग्ल्याउने, डाँफे रंग्याउने यस्तो नहोस्
असत्यको ढाकछोप, सत्य बंग्याउने यस्तो नहोस्
दोसल्ला ओढाएर बलात्कारी, चोर र डाँकुहरूलाई
आमा, दिदी र बहिनीलाई नंग्याउने यस्तो नहोस् ।

२.रौद्र रस
प्रकाशका विरोधी, अँध्यारोमा पर्दै पर्दैनन् जस्तो
उडाइएका बेलुनहरू भुइँमा झर्दै झर्दैनन् जस्तो
लुट उस्तै छ, कूट उस्तै छ, बोल्दा झूट उस्तै छ
शासन गर्नेहरू मानौँ कहिल्यै मर्दै मर्दैनन् जस्तो ।

१.भयानक रस
मृगमरीचिकाले समयलाई छल्दै गरेको हेर
अनुरागको त्यो धवल धरहरा ढल्दै गरेको हेर
साँचेर राख तिम्रो हातका जलघडाहरू, लीला
जो शहादत रोज्छ तिम्रो लागि, जल्दै गरेको हेर ।

२.भयानक रस
नदी त नथाक्दो रहेछ लाखौँपल्ट चट्टानमा ठोकिए पनि
दाँतसँगै बस्दो रहेछ जिब्रो दाँतबाटै बारबार टोकिए पनि
आत्मोत्सर्गको हुटहुटीले खानु मात्र पर्दोरहेछ वीरहरूलाई
बिहान हुँदो रहेछ, महंगैमा टाउकाको मूल्य तोकिए पनि ।

१.वीभत्स रस
दाँत माझ्ने बुरुसको यो कस्तो साटासाट हो ?
भाइबन्धु र सगोत्रीहरुको कस्तो काटाकाट हो ?
एउटा देउता एउटा दानव, लीला अपरम्पार !
आँखै छोप्नुपर्ने बारबार, यो कस्तो चाटाचाट हो ?

२.वीभत्स रस
कुनै दिन सत्यको सालिक नि मान्छेले बाङ्गो पारेर बनाउने छन्
हाँगाहरूलाई जरा पारेर र जराहरूलाई हाँगो पारेर बनाउने छन्
विश्वको एक नम्बर गन्तव्य हुनेछ मेरो देश जब कलाकारहरूले
अपराधीहरूलाई फूलै फूलले, शहीदलाई नाङ्गो पारेर बनाउने छन् ।

१.शान्त रस
नाकभने ठाडै बाँचिरहोस्, आँखा बाँचोस् बांगो भएर
फेदसँग किन वैरभाव राख्नु आफू पात र हाँगो भएर
खूब दौडियो शम्भु जिन्दगीभर र पछुतायो आखिरमा
जुनक्षण सुत्यो उसको लाश चिताग्निमा नांगो भएर ।

२.शान्त रस
फूललाई साक्षी राखेर तिमीलाई हाँसो दिएको हो
जीवनको दीपसँगै शाश्वत मृत्यु टाँसो दिएको हो
हाम्रो होइन अहिले हामी जे जेलाई आफ्नो भन्छौँ
यी सारा मूर्त अमूर्त कुरा ईश्वरले नासो दिएको हो ।

१.अद्भुत रस
आकाश जीवन्त देखिएको त यी जहाज र चील भएर हो
अमर मुनामदन, मदनको सपना र मुनाको शील भएर हो
यी अभावहरू, यी उछिनपाछिनहरू र यी दुःख दर्दहरू बीच
सन्ध्या ! हामी हाँस्न सकेको ईश्वर अटाउने दिल भएर हो ।

२.अद्भुत रस
के सोच्दो हो रारा, के सोच्दो हो फेवा, कुण्डहरू देखी
थाक्दो होला ईश्वर उसैलाई गाली गर्ने मुण्डहरू देखी
विश्व नै जब एउटै भाषा, संस्कृति र साहित्यतिर छ
शम्भु छक्क परेको छ दस बीसजनाको झुण्डहरू देखी ।

१.वीर रस
निर्धा कमजोरहरूमाथि विजयी हुँदैमा वीर मान्दिनँ म
एक दुई हार र एक दुई जितहरूलाई चिर मान्दिनँ म
म त आकाश हुँ ताराहरू अस्ताइरहन्छन्, उदाइरहन्छन्
केही ताराहरू नउदाउलान् खस्लान्, पीर मान्दिनँ म ।

२.वीर रस
अन्धकारलाई जिताउने प्रकाशलाई हराउने हुँदैन मबाट
तिम्रो आँखाको हिमाललाई मैदान गराउने हुँदैन मबाट
जब म तिम्रो शील र सौन्दर्यलाई मन पराउँछु भित्रैदेखिन्
मेरै अन्तस्करणलाई सुन्छु, कसैसँग डराउने हुँदैन मबाट ।

प्रतिक्रिया दिनुहोस्