काँग्रेस-एमाले पनि तोडफोड र मान्छे मारेर सत्तामा पुगेका हुन् : लिङ्देन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन नेपाली काँग्रेस–नेकपा एमाले पनि तोडफोड र मान्छे मारेर सत्तामा पुगेको टिप्पणी गरेका छन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै लिङ्देनले चैत १५ गते भएको राजावादी समूहको आन्दोलनमा आन्दोलनकारीले मात्र नभई राज्यपक्षबाट समेत ज्यादती गरिएको आरोप लगाउँदै बर्तमान सत्ता रहेका दलहरू पनि भजन कीर्तन गाउँदै र मादल बजाउँदै सतामा नपुगेको बताए।
उनले भने, ‘चैत १५ गते आन्दोलनकारीले मात्रै ज्यादती गरेको हो ? त्यो नियन्त्रण गर्ने दायित्व सरकारको होइन ? तपाई कांग्रेस–एमाले भन्नेहरू आज यो सत्तामा भजन कीर्तन गाउँदै मादल बजाउँदै आइपुगेको हो ? तपाईँहरू तोडफोड नगरी आएको हो ? मान्छे नमारी आएको हो ? त्यस कारण म भन्छु, सविन महर्जनलाई हिँडिराखेको बेला गोली किन हानियो ? छतमा बसेर किन म्याद सक्केको अश्रुग्याँस बर्साइयो ? किन माथिबाट गोली हानियो ? त्यसको जवाफ चाहिन्छ ।’

