महायज्ञका नाममा दलितमाथि ज्यादती गर्ने गाउँपालिका अध्यक्षसहित ३ जना फरार



सिरहा,८ चैत । सिरहाको औरही गाउँपालिका-५ स्थित औरहीमा महायज्ञ गर्ने नाममा दलितको घर भत्काउने गाउँपालिका अध्यक्षसहित तीनै जना फरार भएका छन् । अध्यक्ष शिवजी यादव,आयोजक बगरंगी बाबा र पूर्ववडाध्यक्ष दिलीप यादव फरार भएका हुन् ।

घटना सार्वजनिक भएपछि सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र प्रहरी प्रमुख रमेश पण्डित बिहीबार दिउँसो घटनास्थल र गाउँपालिका कार्यालयमा गएका थिए । तर, उनीहरु नभेटिएको र सम्पर्कविहीन बनेको पण्डितले बताए ।

उनीहरु तीनै जनालाई सम्पर्कमा ल्याइदिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदित्यनारायण कर्णलाई आग्रह गरिएको पण्डितले बताएका छन् । ‘हामी घटनाबारे जानकारी लिन गएका थियौं,’ उनले भने, ‘तर, उनीहरु सबै भागेका रहेछन् ।’

चैत १७ गतेबाट सुरु हुने महायज्ञको तयारीका क्रममा दलितको घर डोजर लगाएर भत्काईको घटनाको चौतर्फी बिरोध भएपछि गृहमन्त्री रमेश लेखकले बिहीबार सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन समेत दिएका छन् ।file foto

प्रतिक्रिया दिनुहोस्