प्रतिनिधिसभाबाट पाँचवटा अध्यादेश स्वीकृत



काठमाडौँ । प्रतिनिधिसभाले पाँचवटा अध्यादेश स्वीकृत गरेको छ।

सरकारको सिफारिसमा गत पुस २९ गते राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका अध्यादेश प्रतिनिधिसभाले स्वीकृत गरेको छ। संसद अधिवेशन बसेपछि पहिलो बैठकमा पेश हुनुपर्ने र स्वीकृतिका लागि संसदमा पेश हुनुपर्ने संवैधानिक व्यवस्था अनुसार अध्यादेशहरु स्वीकृत भएका हुन्।

बुधबार प्रतिनिधिसभाबाट सुशासन प्रबर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश २०८१ र निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१ स्वीकृत भएको छ।

त्यस्तै आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ र सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ पनि प्रतिनिसभाबाट स्वीकृत भएको छ।

भूमी सम्बन्धी अध्यादेश भने प्रतिनिधिसभामा पेश भएन। राष्ट्रियसभामा सत्ता पक्ष अल्पमतमा परेपछि सरकारले स्वीकृतिका लागि ढिलो गरी संसदमा पेश गरेको हो।

राष्ट्रियसभामा भूमी बाहेकका अध्यादेशलाई पारित गर्न जसपा तयार भएपछि सरकारले रोकिएका अध्यादेश अघि बढाएको हो।

राष्ट्रियसभामा निर्णायक रहेको जसपा भूमी अध्यादेश जनता र देशको हितमा नभएको भन्दै विपक्षमा उभिएपछि सरकार संकटमा परेको हो।

प्रतिक्रिया दिनुहोस्