१४ देशका नागरिकलाई साउदी अरेबियाले लगायो अस्थायी भिसा प्रतिबन्ध



काठमाडौं । साउदी अरेबियाले भारत, बङ्गलादेश, पाकिस्तानसहित १४ देशका नागरिकमाथि अस्थायीरूपमा भिसामा प्रतिबन्ध लगाएको छ ।

हज यात्रा अघि र यात्राको क्रममा भीडभाड कम गर्न उमराह, व्यापार र पारिवारिक भ्रमण भिसामा प्रतिबन्ध लगाइएको हो ।रिपोर्टअनुसार यो प्रतिबन्ध जुनको मध्यसम्म लागू रहनेछ, जुन हज यात्राको सिजनको अन्त्यसँगै हुनेछ ।

भिसा निलम्बनबाट प्रभावित १४ राष्ट्रमा अल्जेरिया, बङ्गलादेश, इजिप्ट, इथियोपिया, भारत, इन्डोनेसिया, इराक, जोर्डन, मोरक्को, नाइजेरिया, पाकिस्तान, सुडान, ट्युनिसिया र यमन छन् ।साउदी अधिकारीहरूले उमरा भिसा प्रदान गर्ने अन्तिम मिति अप्रिल १३, २०२५ तोकेका छन् ।

गत वर्ष हजको क्रममा हजारौं हज यात्रुहरूको मृत्यु भएको थियो। मृतकमध्ये धेरैजसो बिना अनुमति, अवैध रूपमा हजमा गएका थिए। त्यसैले यो प्रतिबन्धको उद्देश्य यस्ता अनधिकृत हज यात्रुहरूलाई रोक्नु हो। साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानले हज व्यवस्थापनलाई व्यवस्थित र सुरक्षित राख्न वीजा प्रक्रियामा कडाई गर्ने निर्णय गरेका हुन्।

साउदी विदेश मन्त्रालयले यो अस्थायी प्रतिबन्ध यात्रालाई सरल बनाउन मद्दत गर्ने जनाएको छ। यसबाट हजको समयमा सुरक्षामा सुधार आउनेछ। अधिकारीहरूले सबैलाई नयाँ नियमहरूको पालना गर्न अनुरोध गरेका छन् ताकि यात्रुहरूलाई कुनै असहज नहोस्। यदि कसैले यो प्रतिबन्धको उल्लंघन गरेर गैरकानुनी रूपमा साउदी अरबमा बस्यो भने उसलाई ५ वर्षसम्म साउदी अरब प्रवेशमा प्रतिबन्ध लगाइनेछ।

प्रतिक्रिया दिनुहोस्