कोशी र कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजबाट सुरु हुंदै
बिराटनगर।गत असोज ४ मा बर्खे अधिवेशनको अन्त्य भएपछि आजदेखि कोशी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु हुँने भएको छ।

दोस्रो कार्यकालको प्रदेशसभाले काम गर्न नसकेको भन्दै आलोचना खेपिरहँदा बर्खे अधिवेशन अन्त्य भएको चार महिनापछि सुरु हुने संसद बैठकमा बिजनेस के हुन्छ भन्ने चासो देखिएको छ । सांसदहरूसमेत अधिवेशनभर के बिजनेस आउँछ भन्ने अन्यौलमा देखिन्छन् ।
पर्याप्त बिजनेस दिएर प्रदेशका माननीयहरूलाई व्यस्त बनाउने दाबी सरकारको छ । तर, दोस्रो कार्यकालको प्रदेशसभाको सचिवालयको रेकर्ड हेर्ने हो भने सरकार पक्षको दाबीमा सन्देह गर्ने ठाउँ देखिन्छ । किनकि, प्रदेश संरचना बनेपछिको दोस्रो कार्यकालको प्रदेशसभामा कानुन बनाउने विषयमा त्यति बहस भएको देखिँदैन ।
दोस्रो कार्यकालको पाँचौँ अधिवेशनसम्म प्रदेशसभाका जम्मा ६८ वटा बैठक बसे । अघिल्लो कार्यकालमा यही समयमा अर्थात् पाँचौँ अधिवेशनसम्म १ सय ७० पटक बैठक बसेको थियो । प्रदेशसभामा सचिवालयमा उपलब्ध विवरणअनुसार सबैभन्दा बढी चौथो कार्यकालमा २३ बैठक बसेको थियो ।
सत्तारुढ एमालेले प्रदेशसभाको यो अधिवेशनमा बिजनेसको कमी नहुने दाबी गरेको छ । आइतबार पत्रकारहरूसँगको भेटघाटमा एमाले प्रमुख सचेतक विदुर कुमार लिंथेपले आउँदो अधिवेशनले प्रदेशलाई राम्रा कानुनहरू दिने दावी गरे । प्रदेश सरकारले धेरै विधेयकहरूको मस्यौदा तयार पारिसकेको भन्दै त्यसलाई कानुनको रूप दिने उनको भनाइ छ ।
‘विधेयकहरू ड्राफ्ट भएका छन्, त्यसलाई सदनमा छलफल गराएर यही अधिवेशनभित्र कानुनको रूपमा ल्याउने प्रयत्न हुन्छ,’ लिन्थेपले भने, ‘त्यसका लागि सदनमा रहेका सबै दलहरूसँग सहकार्य हुन्छ ।’ छैटौँ अधिवेशन समेत रहेको यो हिउँदे अधिवेशनमा सरकारले सदनमा कम्तीमा १० वटा विधेयक ल्याउन लागेको उनले बताए । प्रदेशसभामा धेरै विधेयक आउन लागेकोले विधेयकमाथि सघन छलफल हुने उनको विश्वास छ ।
‘हिउँदे अधिवेशनमा बिजनेस अभाव हुँदैन, दुई महिनालाई पुग्ने बिजनेस दिने सरकारको प्रतिबद्धता छ, करिब १० वटा विधेयक आउने तयारी छ,’ उनले भने । उनले विधेयकलाई समृद्ध बनाएर कानुनका रूपमा पास गरिने बताए । प्रदेशसभामा आउने विधेयकमा सरोकारवालाहरूसँग पनि छलफल गरिने उनको भनाइ छ ।
यसैबीच, कर्णाली प्रदेशको हिउँदे अधिवेसनको पहिलो बैठक आज दिउँसो १ बजे बस्दैछ। अधिवेशनको पहिलो दिन भएकोले आज अधिवेशन आह्वान सम्बन्धि पत्र बाचन गर्ने र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुले मन्तव्य राख्ने कार्यसूची मात्रै रहेको प्रदेशसभा सचिवालयका उपसचिव अर्जुन भुसालले जानकारी दिनुभयो।