नेपाल मगर संघ रोमानियाले आयोजना गर्यो माघे संक्रान्ति कार्यक्रम
दावा जाङ्बु शेर्पा,काठमाडौं । आयोजना गरेको माघे संक्रान्ति कार्यक्रम सम्पन्न भएको छ।

माघे संक्रान्तिका अवसरमा संघले आईतवार पहिलो पटक सो कार्यक्रम आयोजना गरेको मगर समाज रोमानियाका अध्यक्ष गोमा देबी थापा मगरले जानकारी दिनुभयो।
शेर्पा किदुग रोमानियाका अध्यक्ष ल्हाक्पा तेन्जी लामाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथिका रूपमा नेपाल तामाङ घेदुङ रोमानियाका अध्यक्ष फुर्साङ लामा,तमु समाज रोमानियाका अध्यक्ष तिलबहादुर गुरुङ,नेपाल किराँत समावेशी समाज रोमानियाका अध्यक्ष गौरीमान लिम्बू लगायत बिभिन्न ब्यक्तित्वको उपस्थिति रहेको थियो।
कार्यक्रममा रोमानियामा विभिन्न क्षेत्रहरूमा कार्यरत नेपालीहरू तथा स्थानीय रोमानियन नागरिकहरूको समेत उल्लेखनीय सहभागिता रहेको वहाँले बताउनुभयो।
कार्यक्रमको सुरुआत नेपाली राष्ट्रिय गान, मगर समुदायको राष्ट्रिय गीत र रोमानियन राष्ट्रिय गानबाट गरिएको थियो। तामाङ घेदुङ रोमानियाले प्रस्तुत गरेको सेलो नृत्य, तमु समाज रोमानियाको झाँकी ग्याब्री नाच, तथा किराँत समावेशी समाज रोमानियाको सिली र सकेला नृत्य जस्ता सांस्कृतिक प्रस्तुतीहरूले उपस्थित सबैलाई मन्त्रमुग्ध बनाएको थियो।
मगर संघको तर्फबाट प्रस्तुत गरिएका अन्य विविध सांस्कृतिक कार्यक्रमले कार्यक्रमको रौनकलाई अझ रोचक र मनोरञ्जनात्मक बनाएको थियो।
कार्यक्रममा मगर समुदायका विशेष परिकारहरू पनि प्रदर्शन गरिएको थियो। सहभागीहरूले मगर परिकारको स्वाद लिएर कार्यक्रमलाई अझ विशेष बनाएका थिए।
विदेशी भूमिमा मगर संघद्वारा आयोजना गरिएको यो कार्यक्रमले रोमानियामा रहेका नेपालीहरूको एकता र सांस्कृतिक पहिचानलाई अभिव्यक्त गरेको छ। यो कार्यक्रम रोमानियाको नेपाली समुदायको लागि ऐतिहासिक बनाइएको छ।
माघे संक्रान्तिको अवसरमा सम्पन्न यस कार्यक्रमले रोमानियामा रहेका नेपाली समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै नेपाली संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न मद्दत पुर्याएको अध्यक्ष मगरले बताउनुभयो।