सर्बोच्चका पूर्वन्यायाधीश वस्तीको अन्त्येष्टि भोलि गरिने
काठमाडौं।सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ। हृदयाघात (हार्ट अट्याक) का कारण गएराति थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो।

काठमाडौँको नयाँबजारस्थित आफ्नै निवासमा गएराति हृदयाघात भएपछि अस्पताल पुर्याईएका उनलाई चिकित्सकले पुग्ने बित्तिकै मृत घोषणा गरेका थिए। हाल पूर्वन्यायाधीश वस्तीको पार्थिव शरीर नर्भिक अस्पतालमै छ। छोरा विदेशबाट आउन लागेकाले आइतबार मात्रै उनको अन्तिम संस्कार गरिने भाइ गजेन्द्रले जानकारी दिए।
७१ वर्षीय पूर्वन्यायाधीश वस्तीका श्रीमती, ३ छोरी र १ छोरा छन्। पूर्वन्यायाधीश वस्ती २०१० सालमा गोरखाको खोप्लाङमा जन्मिएका थिए। उनले २०६५ माघ ९ देखि २०७० चैत ३० सम्म सर्वोच्च अदालतको न्यायाधीशका रूपमा काम गरेका थिए। उनी गुणस्तरीय फैसला लेखन र शोधमूलक कामका लागि परिचित थिए।
निर्भीक र निष्ठावान् न्यायाधीशमा गनिने उनलाई नेपालको पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की (कार्यकाल २०७३/०३/२७ देखि २०७४/०२/२४) पछिको प्रधानन्यायाधीशका रूपमा हेरिएको थियो। सर्वोच्चमा उनीहरूको नियुक्ति एकै दिन भएको थियो।
रामप्रसाद श्रेष्ठ प्रधानन्यायाधीश (कार्यकाल २०६६/१२/१५ देखि २०६८/०१/२३) छँदा भ्रष्टाचारसम्बन्धी मुद्दा र आन्तरिक सुशासनमा केही महत्त्वपूर्ण कामहरू भएका थिए। त्यसका पछाडिका खास योजनाकार वस्ती नै थिए।
वस्तीको क्षमता,योग्यता र निष्ठा अनि भविष्यमा न्यायपालिकाकै नेतृत्वमा पुग्न सक्ने सम्भावना देखेर त्यहीँभित्रको एउटा समूह चिढिँदै गएको थियो। अन्ततः प्रधानन्यायाधीशको रोलक्रममा भए पनि वस्तीलाई ५ वर्ष अस्थायी न्यायाधीशका रूपमा काम गरेपछि २०७० सालमा सर्वोच्चबाट निकालियो।
स्थायी दरबन्दीमा नियुक्त गर्ने वा अस्थायीमै म्याद थप गर्ने विकल्प हुँदाहुँदै वस्तीसहितका केही असल छवि बनाएका न्यायाधीशहरुलाई बीचैमा घर पठाइएको थियो।

