कोशी प्रदेशका पूर्बमन्त्री अधिकारीलाई थप ७ दिन हिरासतमा राख्न अनुमति
काठमाडौं।कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीसहित ९ जनालाई अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
अधिकारी जोडिएको मानव तस्करी प्रकरणमा आजमात्रै थप दुई जना पक्राउ परेका थिए।जापान जानका लागि नक्कली कागजात बनाइदिने दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार पक्राउ पर्नेमा खोटाङ घर भएका ४१ वर्षीय नवीन राई र ३२ वर्षीया गुड्डी राई छन् । यससँगै यो घटनामा पक्राउ पर्नेको संख्या ९ पुगेको छ । यो प्रकरणमा निवर्तमान मन्त्री अधिकारी समेत अहिले प्रहरी हिरासतमा छन् ।
राईद्वयले खोटाङस्थित ऐँसेलुखर्क गाउँपालिका–२ का वडा सदस्य र कोशीको आन्तरिक मामिला तथा कानून मन्त्रालयको ‘सहायक’को परिचयपत्र बनाइदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
कात्तिक १३ मा तत्कालीन मन्त्री अधिकारी, खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा क्याथे प्यासिफिकको उडानमार्फत जापान उडेका थिए ।कागजातमा शंका लागेपछि जापानको अध्यागमनले टोकियो विमानस्थलबाटै उनीहरूलाई डिपोर्ट (निष्कासन) गरेको थियो ।
प्रहरीले यो प्रकरणमा बिचौलियाको काम गर्ने धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डे, दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनार र नुवाकोट घर भएका २३ वर्षीय जुगल रिजाललाई पनि नियन्त्रणमा लिइसकेको छ ।
पक्राउ परेकाविरुद्ध प्रहरीले लिखत किर्ते र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।