समता घरेलु लघुवित्त वित्तीय संस्थाको आईपिओ भर्ने म्याद भोलि सकिंदै



काठमाडौं।समता घरेलु लघुवित्त वित्तीय संस्थाले कात्तिक १२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने भोलि (कात्तिक २० गते) अन्तिम दिन रहेको छ।

लघुवित्तले साविकको मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरेपश्चात प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम शेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग शेयर सर्वसाधारणमा एफपीओ जारी गरेको हो।

लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३ लाख ५० हजार ९०४.२५ कित्ता शेयर निष्काशनमा ल्याएको हो। निष्काशन बन्द छिटोमा कात्तिक २० गते र ढिलोमा कात्तिक २६ गते हुनेछ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार कात्तिक १८ गते साँझसम्ममा लघुवित्तको एफपीओमा १० लाख ९२ हजार ९०७ आवेदनमार्फत १ अर्ब ६६ करोड २२ लाख ६३ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख २२ हजार ६३० कित्ता शेयरका लागि आवेदन परेको छ। लघुवित्तको एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। हाल लघुवित्तको चुक्ता पूँजी ५६ करोड ४० लाख ६ हजार ३०४ रुपैयाँ रहेको छ। एफपीओ निष्काशनपश्चात लघुवित्तको चुक्ता पूँजी ५९ करोड ९० लाख ९६ हजार ७२८ रुपैयाँ २५ पैसा पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्