स्रोत नखुलेको १९ लाख रकमसहित दुई जना पक्राउ
काठमाडौं। स्रोत नखुलेको नगद १९ लाख रूपैयाँसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा दोलखा विगु गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने ३५ वर्षीया साबित्री वली र काठमाडौं महानगरपालिका-२३ न्यूरोड बस्ने २५ वर्षीय सुरेश वली रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका-१४ कलंकीबाट साबित्रीलाई स्रोत नखुलेको १५ लाख रूपैयाँ सहित फेला पारी पक्राउ गरेको थियो। साथै थप अनुसन्धानको क्रममा साबित्री विगत १ वर्षदेखि काठमाडौं न्यूरोडस्थित भारतीय नागरिकको अफिसमा काम गर्ने बताए पश्चात उक्त अफिस जाँच गर्ने क्रममा उनकै भाई सुरेशको साथबाट थप ४ लाख रूपैयाँ फेला पारी उनलाई समेत पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।