बाढी प्रभावित जिल्लाको क्षति बुझ्न गृहले बनायो कार्यदल (नामावली सहित)
काठमाडौँ।गृह मन्त्रालयले अति भारी वर्षाका कारण प्रभावित ८ जिल्लामा यथोचित राहत उपलब्ध गराउन थप समन्वय र सहजीकरण गर्न तथा क्षतिको संक्षिप्त विवरण तयार गर्ने उद्देश्यले सहसचिवको नेतृत्वमा कार्यदल गठन गरेको छ ।
असोज १० देखि १२ को बाढी–पहिरो प्रभावित काठमाडौं,ललितपुर,भक्तपुर,काभ्रे,सिन्धुली,मकवानपुर,सिन्धुपाल्चोक र धादिङ गरी ८ जिल्लाका लागि कार्यदल गठन भएको हो ।
काठमाडौंमा गोविन्द प्रसाद रिजाल,ललितपुरमा प्रकाश पौडेल, भक्तपुरमा नारायण प्रसाद अर्याल,काभ्रेमा बासुदेव घिमिरे, सिन्धुलीमा लालबाबु कवारी,मकवानपुरमा रामबन्धु सुवेदी, सिन्धुपाल्चोकमा श्यामकृष्ण थापा र धादिङमा रमेश ढकाललाई कार्यदलको संयोजक बनाइएको छ ।
कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय,उर्जा,जलस्रोत तथा सिचाईँ मन्त्रालयका डिभिजन इन्जिनियर र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव प्रतिनिधि रहने छन् ।
कार्यदललाई क्षतिग्रस्त सडकहरूको शीघ्र मर्मत सम्भार गरी सञ्चालनमा ल्याउन सडक निर्माण गर्ने सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्ने,विपद पीडित नागरिकहरूको सुरक्षित बसोबास तथा राहत उपलब्ध गराउने सम्बन्धमा सम्बन्धित स्थानीय तहसँग समन्वय गर्ने र सो सम्बन्धि प्रतिबेदन पुस २० गतेसम्म गृहमन्त्रालयमा प्रतिवेदन पेस गर्ने कार्यदेश पनि दिइएको छ।