जिम्मेवार ढंगले जनताको स्वास्थ्य सेवामा लाग्न स्वास्थ्यकर्मीहरुलाई थुलुङदुधकोशी अध्यक्ष राईको निर्देशन




सोलुखुम्बु। थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राईले स्वास्थ्य सेवा पाउने हकप्रति आफु संवेदनशील रहेको बताउँदै जनताको स्वास्थ्यसेवामा अति जिम्मेवार भएर लाग्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिनुभएको छ।

पालिका अन्तरगतका स्वास्थ्य संस्थाहरूको आर्थिक वर्ष २०८०/८१ को वार्षिक समिक्षा कार्यक्रममा शुक्रबार अध्यक्ष राईले सो निर्देशन दिनुभएको गाउँपालिका प्रबक्ता भोजराज कार्कीले जानकारी दिनुभयो।गाउँपालिका अध्यक्ष असिम अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा थुलुङ दुधकोशी अस्पताल लगायत ६ स्वास्थ्य चौकी र ३ सामुदायिक स्वास्थ्य ईकाईका प्रमुखहरूले आ-आफ्नो संस्थाद्वारा सम्पन्न गरिएका स्वीकृत कार्यक्रमहरूको प्रगतिबारे प्रकाश पारेका थिए।

समिक्षा कार्यक्रममा मातृ मृत्युदर र नव शिशु तथा बाल मृत्यु दर शून्य, पूर्ण खोप सुनिश्चतता र गाउँपालिकाको सम्पुर्ण स्वास्थ्य संस्थाहरूको न्युनतम सेवा मापदण्डसम्बन्धी ईन्डेक्सको हकमा सम्पूर्ण स्वास्थ्य संस्थाले ८० प्रतिशतभन्दा माथि कायम गर्न सफल भएको जानकारी कार्यक्रममा गराईएको थियो।

सोही कार्यक्रममा गाउँपालिका अध्यक्ष असिम राईज्युले सम्पुर्ण सूचकमा उल्लेखनीय सुधार गर्ने र न्युनतम सेवा मापदण्डमा गाउँपालिका भरी उत्कृष्ट अंक प्राप्त गरि प्रथम हुने स्वास्थ्य चौकी-पञ्चन, दोस्रो हुने स्वास्थ्य चौकी-काँगेल र तेस्रो हुने स्वास्थ्य चौकी-जुबुलाई कमशः १५ हजार,१० हजार र ५ हजार नगदसहित प्रमाण पत्रले सम्मानित गर्नुभएको प्रबक्ता कार्कीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्