अदालतको आदेशलाई महानगरको निर्णय भनि भ्रम नछर्नुहोला : बालेन




काठमाडौं।काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन)ले एमाले पार्टीका नेता–कार्यकर्तालाई जनतामाझ भ्रम नफैलाउन आग्रह गरेका छन् ।

सोमबार आफ्नो सामाजिक सञ्जालमार्फत प्रमुख साहले सर्वोच्च अदालतको आदेशलाई महानगरले कार्यान्वयन गर्दा जनतामाझ गलत व्याख्या गरिएको भन्दै उनले महानगरको निर्णय भनेर भ्रम नछर्न आग्रह गरेका हुन्।

प्रमुख साहले सर्वोच्चको आदेशपछि महानगरले वाग्मती र विष्णुमती नदी वरिपरि ४० मिटर निर्माण निषेधित क्षेत्रबारे जानकारी गराइएको स्पष्ट पार्दै टुकुचाखोलाको २० मिटर वरिपरि निर्माण निषेधित क्षेत्रबारे पनि जानकारी गराइएको बताएका छन् । यो महानगर आफैले गरेको निर्णय नभएको उनको स्पष्टीकरण छ।

त्यस्तै प्रमुख साहले सामाजिक सञ्जालमा ‘कागले कान लग्यो भनेर हल्ला गर्दैमा कागको पछि नलागेर आफ्नो कान छाम्नुपर्ने’ भन्दै अदालतको आदेशानुसार जनताले आफ्नो जग्गा उपभोग गर्नबाट नरोकिएको समेत स्पष्ट पारेका छन् ।

“नेपाल सरकारले चाहेमा मुआब्जा दिएर मात्र जग्गा अधिग्रहण गर्न सक्नेछ,” उनले लेखेका छन्, “अदालतको आदेशलाई महानगरको निर्णय भनि गलत व्याख्या गरेर पार्टीको नेता–कार्यकर्ताहरूले जनतामाझ भ्रम नछर्नु होला ।”

प्रतिक्रिया दिनुहोस्