बंगलादेश : देश छोडेर भाग्नै लाग्दा पक्राउ परे शेख हसिना नेतृत्वको सरकारका मन्त्रीहरु



काठमाडौं।बंगलादेशकी निवर्तमान प्रधानमन्त्री शेख हसिना बाजेद नेतृत्वको सरकारका मन्त्रीहरू पक्राउ परेका छन् ।  उनीहरूलाई देश छाडेर भाग्न लाग्दै गर्दा पक्राउ गरिएको हो । 

देश छाड्नका लागि हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थल पुगेका उनीहरूलाई पक्राउ गरेर सेनालाई बुझाइएको छ । सो क्रममा पूर्वविदेशमन्त्री हसन महमुद र पूर्वसञ्चार राज्यमन्त्री जुनैद अहमद पलक समातिएका छन्। तर, पूर्वशिक्षामन्त्री मोहीबुल हसन चौधरी, ग्रामीण विकासमन्त्री तजुल इस्लाम, वित्तमन्त्री अबुल हसन महमुद अली, खेलकुद मन्त्री नजमुल हसनलगायतलाई भने विदेश जान दिइएको छ।

हसिना नेतृत्वको पार्टी अबामी लिगको विद्यार्थी संगठन बंगलादेश छात्र लिगका नेताहरू पनि पक्राउ परेका छन् । बंगलादेश छात्र लिगका नेताहरु तनविर हसन सैकत र रियाज महमुद पनि पक्राउ परेका हुन्।

उता,बङ्गलादेशका नोबेल पुरस्कार विजेता मुहम्मद युनुसले लामो समयदेखि शासन गरेकी शेख हसिना पदच्यूत भएसँगै मुलुकबाट पलायन भएको एक दिनपछि मङ्गलबार कामचलाउ सरकारको नेतृत्व गर्न आफू तयार रहेको बताएका छन् ।

प्रधानमन्त्रीबाट अपदस्थ हसिनाको दुश्मनी र लाखौँ बङ्गलादेशीको व्यापक सम्मान आर्जन गरेका लघुवित्तका अग्रणी ८४ वर्षीय युनुसलाई लाखौँ मानिसलाई गरिबीबाट बाहिर निकालेको श्रेय दिइन्छ ।

“यदि बङ्गलादेशमा मेरो देश र जनताका लागि साहसको कारवाही आवश्यक छ भने म यो लिनेछु ।” विद्यार्थी नेताहरूले अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान गरेपछि उनले ‘स्वतन्त्र निर्वाचन’ को पनि आह्वान गरेका छन् । 

७६ वर्षीया हसिना सन् २००९ देखि सत्तामा थिइन् तर उनीमाथि जनवरीमा भएको निर्वाचनमा धाँधली गरेको आरोप लगाइएको थियो । त्यसपछि गत महिना उनको राजीनामाको माग गर्दै लाखौँ जनता सडकमा उत्रिएका थिए । 

अशान्ति दबाउने सुरक्षा बलको प्रयासमा सयौँ मानिस मारिए तर विरोध बढ्दै गयो र सेना आफ्नो विरुद्धमा भएपछि हसिना अन्ततः सोमबार एक हेलिकप्टरमा सवार भएर भागिन् । 

सेना प्रमुख जनरल वेकर–उज–जमानले सोमबार सेनाले अन्तरिम सरकार बनाउने घोषणा गर्दै अब ‘हिंसा रोक्ने समय’ आएको बताए । 

राष्ट्रपतिले मङ्गलबार संसद् भङ्ग गरेका छन् । विद्यार्थी नेताहरू र प्रमुख विपक्षी बङ्गलादेश नेशसनल पार्टी (बिएनपी) ले संसद् भङ्ग गर्न र तीन महिनाभित्र निर्वाचन गर्न माग गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्