स्रष्टा खेमनाथ दाहालको नयाँ कृति‘सिर्जनामा दृष्टि’ लोकार्पित
काठमाडौं।स्रष्टा खेमनाथ दाहालको नयाँ कृति‘सिर्जनामा दृष्टि’ लोकार्पण गरिएको छ । काठमाडौंमा शनिबार साहित्यिक पत्रकार संघको आयोजनामा एक विशेष समारोहबीच स्रष्टा दाहालको भूमिकासंग्रह कृति ‘सिर्जनामा दृष्टि’को लोकार्पण गरिएको हो ।
संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ इतिहासविद् प्राडा.सुरेन्द्र केसी, कृति सर्जक महाकाव्यकार खेमनाथ दाहाल, विशिष्ठ अतिथि विशिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहाल,सामालोचक प्राडा.कृष्णप्रसाद दाहाल, समीक्षक डा.यज्ञश्वर निरौला,गीतकार समाजसेवी सोभित उप्रेति, प्राडा.गोविन्दमान सिंह कार्की,उषा दाहाललगायतले उक्त कृतिको लोकार्पण गर्नुभएको थियो ।
गीतकार/निर्देशक गणेश सुवेदीले सहजीकरण गर्नुभएको कार्यक्रमको प्रमुख अतिथि प्राडा.केसीले दीप प्रज्ज्वलन गरेर समुद्घाटन गर्नुभएको थियो । समारोहमा मिलाप प्रकाशनका अध्यक्ष कृष्ण भुसालले स्वागत मन्तव्य राख्नुभएको थियो । स्वागत मन्तव्य राख्ने क्रममा उहाँले कृति प्रकाशनका बारेमा आफ्ना कुरा राख्दै प्रकाश संस्था जनपक्ष प्रकाशन र यसका प्रमुख साहित्यकार पुण्यप्रसाद शर्मालाई धन्यवाद दिनुभएको थियो ।
कृतिको समीक्षात्मक टिप्पणी गर्दै डा.निरौलाले स्रष्टा दाहालको मूल विधा काव्य भए पनि उहाँले अन्य क्षेत्रमा त्यतिकै सशक्त रूपमा कलम चालाउँदै आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्रष्टा दाहालको मूल विधा काव्य हो तर उहाँले अन्य विधामा पनि कलम चलाउँदै आउनुभएको छ । त्यसैको पछिल्लो रूप सिर्जनामा दृष्टि हो’, उहाँले भन्नुभयो, ‘यस कृतिले स्रष्टा दाहालको साहित्य क्षेत्रमा नयाँ परिचय स्थापित भएको छ ।’ उहाँले कृतिमा फरक विधाका १६ पुस्तकको भूमिका यसमा समावेश भएको बताउनुभयो ।
यसअघि दाहालका कवितासंग्रह ‘श्रद्धाञ्जलि’, खण्डकाव्य ‘रश्मी’, काव्य ‘योद्धा’, कवितासंग्रह ‘हावर्डको चौतारीमा’, महाकाव्य ‘स्वेतपत्र’, कवितासंग्रह ‘म त बन्दी भएको छु’, नियात्रा ‘यात्राको सिकिर्नी’, उपन्यास ‘अहोरात्र’ लगायत कृति प्रकाशित भइ सकेका छन्।