टुंगियो दुई दलबीच मन्त्रालयको भागबन्डा,मन्त्री चयन गर्न सभापति देउवालाई सकस



काठमाडौं।प्रधानमन्त्रीसहित नेकपा एमालेलाई ९ र नेपाली कांग्रेसलाई १० मन्त्रालयको प्रारम्भिक सहमति गरेका सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसबीच मन्त्रालय भागबण्डा टुंगो लगाएका छन्।

स्रोतका अनुसार बाँकी मन्त्रालय अन्य सहयोगी साना दललाई दिने गरी एमालेले अर्थ, रक्षा,भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, शिक्षा, विज्ञान तथा प्रविधि, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय,सञ्चार तथा सूचना प्रविधि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय लिने र नेपाली कांग्रेसले गृह, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ,सहरी विकासलगायतका मन्त्रालय लिने समझदारी भएको छ। मन्त्रालय भागबण्डा टुंगिए पनि कसलाई मन्त्री बनाउने भन्ने टुंगोमा दुबै दल पुगिसकेका छैनन्।

एमालेमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई मन्त्री बन्ने नेताहरुको नाम टुंगो लगाउन सहज भएपनि कांग्रेस सभापति शेरबहादुर देउवालाई भने पार्टी भित्र भागबण्डा मिलाउन निकै सकस छ।संस्थापन इतर समूहले ६०/४० अनुसार आफुहरुले भागबन्डा पाउनुपर्ने अडान लिएका कारण संस्थापन समूहकै आकांक्षीहरुलाई समेट्न उनलाई गार्‍हो परिरहेको छ।

संस्थापन इतर समूहको आज बिहान बसेको बैठकले कम्तीमा पनि चारजना मन्त्री पाउनुपर्ने माग गरेको छ।बैठकमा नेता शेखर कोइराला र महामन्त्री गगन थापासहित धनराज गुरुङ,जीवन परियार,बद्री पाण्डे,अर्जुननरसिंह केसी,दिलेन्द्र बडू,बलबहादुर केसी, डा. मिनेन्द्र रिजाल र डा. चन्द्र भण्डारी सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्