उपसचिव शर्माको निधनप्रति सोलुदुधकुण्ड नगरपालिका प्रमुख शेर्पाद्वारा दु:ख व्यक्त
सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल शेर्पाले उपसचिव मेघनाथ शर्माको निधनप्रती दु:ख व्यक्त गर्नुभएको छ।

सोलुदुधकुण्ड नगरपालिकामा दरबन्दी रही हाल चिकित्सा शिक्षा आयोग सानोठिमीमा कार्यरत उप-सचिव (शिक्षा) शर्माको निधनमा शोक बिज्ञप्ति प्रकाशित गर्दै नेपाली कांग्रेस सोलुखुम्बुका सभापति समेत रहनुभएका शेर्पाले दु:ख व्यक्त गर्नुभएको हो।
केही समय यतादेखि बोनम्यारो क्यान्सरबाट पीडित जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं-३ निबासी शर्माको गएराती नेपाल क्यान्सर अस्पतालमा निधन भएको थियो।शर्माका श्रीमती र दुई छोरी छन्।उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
नगरप्रमुख शेर्पाले शोक बिज्ञप्तिमा भन्नुभएको छ,-‘सोलुखुम्बु जिल्ला नेचासल्यान गाउँपालिका वडा नं. ३ ठेगाना भई यस नगरपालिकाको कार्यालयमा दरबन्दी रहि हाल , भक्तपुरमा कामकाज गर्दै आउनु भएका अत्यन्तै मिलनसार, सहयोगी भावना भएका वौद्धिक व्यक्तित्त्व उपसचिव (शिक्षा) श्री मेघनाथ शर्माको यहि मिति २०८१ साल असार २६ गतेका दिन भएको असमायिक निधनको खबरले यस नगरपालिका परिवार अत्यन्तै स्तब्ध भएका छौं। यस नगरपालिकामा कार्यरत रहँदा तथा शिक्षा क्षेत्रमा उहाँले पुऱ्याउनु भएको योगदानको स्मरण गर्दै, यस दुःखद् घडिमा उहाँको दिवाङ्गत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस भनि हार्दिक समवेदना प्रकट गर्दछौं।’
यसैबीच,नगरपालिकाका पूर्ब शिक्षा शाखा प्रमुख रहेका उपसचिब शर्माको निधनमा सोलुदुधकुण्ड नगरपालिकाले आज शोक मनाएको छ।यसक्रममा नगरप्रमुख शेर्पा,उपप्रमुख गान्धीमाया तामाङ,प्रमुख प्रशासकीय अधिकृत कोपिला थुलुङ लगायत अन्य जनप्रतिनिधि र कर्मचारीहरुले स्वर्गीय शर्माको फोटोमा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गर्नुभएको नगरपालिकाले जनाएको छ।