राप्रपाले आन्दोलन र संगठन बिस्तारलाई एकसाथ अघि बढाउने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आन्दोलन र संगठन बिस्तारलाई एकसाथ अघि बढाउने रणनीतिक निष्कर्ष तय गरेको छ ।

राप्रपाका शीर्ष नेतृत्वतह र स्थानीयस्तरका अगुवाहरुकोे संयुक्त भेलाले सो मार्गचित्र अख्तियार गरेको हो । केन्द्रीय कार्यालय धुम्बाराहीमा शुक्रबार सम्पन्न काठमाडौं उपत्यकाकेन्द्रीत छलफलले महानगरपालिका, नगरपालिका र गाउँपालिकाअन्तर्गत वडा तहसम्म चुस्त संगठन बनाउने निर्णय लिएको हो ।
‘पृथ्वीनारायण शाहदेखि हालसम्म जुनै पनि सन्दर्भमा उपत्यकाको रणनीतिक महत्व रहँदै आएको छ । यसलाई मनन् गरेर महत्वकासाथ उपत्यकाभित्र संगठन निर्माणमा लाग्नु पर्दछ,’ राप्रपाका पूर्वअध्यक्ष पशुपतिशम्सेर राणाले संगठन विभागद्वारा आयोजित भेलालाई सम्बोधन गर्दै भने ।
‘ठूला भन्ने दलहरु संविधान संशोधनको बहानामा साना दलहरुलाई निमिट्यान्न पार्न लागेका छन् । यो अवस्था घोषित रुपमै सार्वजनिक भएको छ । त्यसकारण संशोधन भनेर मात्र पर्याप्त हुँदैन, के र कस्तो संशोधन भन्ने सवालमा गंभीर भएर सोँच्नुपर्दछ,’ राप्रपाका निर्देशन समिति अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले भने ।
‘राप्रपा सबै खालका कार्यकता र दृष्टिकोणको साझा घर हुनुपर्दछ । यो अवस्था व्यवहारमा लागू हुनुपर्दछ । संगठन फेसबुकमा होइन, भुईँ तहमा निर्माण गर्नुपर्दछ । पार्टीमा देखिएका विवाद र तेरो मेरो भावनाले कसैलाई हित गर्दैन, मजबुत संगठन बन्दैन । पार्टी नेतृत्वबाट यसको निराकरण हुनुपर्दछ,’ उपाध्यक्ष एवं बागमती प्रदेश संयोजक विक्रम पाण्डेले भने ।
महामन्त्री तथा संगठन विभाग प्रमुख डा धवलशम्सेर राणाले संगठन बिस्तारबाट आन्दोलन र चुनाव दुबैतर्फ सकारात्मक नतिजा हासिल हुने बताए । ‘जहाँसम्म सरकारमा जाने कि नजाने भन्ने प्रश्न छ, मलाई सोध्नुहुन्छ भने, संवैधानिक राजसंस्था, हिन्दुराष्ट्र लगायतका मूल लक्ष्य प्राप्त हुने अवस्था निश्चित नभएसम्म पार्टी सरकारमा जान हुन्न,’ उनले भने ।
‘पार्टीको भविष्य निर्माण गर्न संगठनमा दत्तचित्त भएर लाग्नुबाहेक अरु विकल्प छैन । कार्यकर्ता साथीहरुले र्सगठनका लागि जहाँ बोलाउनुहुन्छ, म त्यहाँ पूग्न तयार छु,’ बागमती प्रदेश समिति अध्यक्ष विक्रमबहादुर थापाले भने ।
भेलामा उपत्यकाभित्रका केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदहरु, काठमाडौं, ललितपुर तथा भक्तपुर जिल्लाका अध्यक्ष तथा सचिवहरु, क्षेत्रीय तथा प्रदेशसभा समितिका अध्यक्ष तथा सचिवहरु, महानगरपालिका, नगरपालिका र गाउँपालिका समितिका अध्यक्ष तथा सचिवहरु समेत सहभागी थिए ।

