निःशुल्क अनलाइन कक्षा लिन चाहने विद्यार्थीका लागि एमाले अध्यक्ष ओलीद्वारा मोबाइल नम्बर सार्बजनिक



काठमाडौं।अध्यक्ष ओलीले एसईईको मौका परीक्षाको तयारीका लागि निःशुल्क अनलाइन कक्षा लिन चाहने विद्यार्थीले सम्पर्क गर्न सक्ने गरि एमाले अध्यक्ष केपी ओलीले मोबाईल नम्बर सार्बजनिक गर्नुभएको छ।

बुटवलमा बिहिवार आयोजित कार्यक्रममा मौका परीक्षाको तयारी गरिरहेका देशभरिका विद्यार्थीलाई निःशुल्क अनलाइन क्लास लिने व्यवस्था मिलाउने घोषणा गर्नुभएका अध्यक्ष ओलीले फेसबुक पेजमा कुनै कन्फ्युजन भयो भने मोवाइल नम्बर ९८४१८९७६१३ मा सम्पर्क गर्न विद्यार्थीलाई आग्रह गर्दै मोबाईल नम्बर सार्बजनिक गर्नुभएको हो।

उहाँले विद्यार्थीलाई समस्या परे त्यो नम्बरले मद्दत गर्ने स्पष्ट पार्नुभयो । अध्यक्ष ओलीले बढीभन्दा बढी विद्यार्थी उत्तीर्ण होऊन् र उनीहरूको भविष्य उज्ज्वल होस् भनेर आफूले यो काम गर्न लागेको बताउनुभयो ।

उहाँले शिक्षकहरूलाई समय अनुसारको सीप र ज्ञान दिन नसक्दा विद्यार्थीलाई सिकाउने कुरामा कमी भएको र यस वर्षको एसईई परीक्षामा धेरै विद्यार्थी अनुत्तीर्ण भएको बताउनुभयो । शिक्षकले गुणस्तरीय तालिम नपाउँदा ज्ञान ट्रान्सफर गर्न नसकेको कारण अहिलेको अवस्था आएको अध्यक्ष ओलीको भनाइ छ ।

वहाँले भन्नुभयो – उहाँहरूलाई उत्तीर्ण गराउनका लागि अ‌ङ्ग्रेजी, गणित, ऐच्छिक गणित, विज्ञान र सामाजिक विषयका कक्षाहरू अनलाइन मार्फत् सबै विद्यार्थीलाई उपलब्ध गराइने छ । काठमाडौंबाट गुणस्तरीय शिक्षकहरूले अनलाइन मार्फत् शिक्षा दिनुहुने छ, त्यसका लागि केपी ओली फेसबुक पेजमा कन्ट्याक गर्नुहोला, सबैले अनलाइन क्लासमा जोडिएर अनलाइन क्लासको लाभ लिन सक्नु हुने छ । अध्यक्ष ओलीले धेरै ज्ञान र क्षमता भएका शिक्षकहरूले अनलाइन कक्षा लिने जानकारी दिनुभयो । उहाँले विद्यार्थीलाई आत्मविश्वासका साथ अध्ययन गर्न आग्रह गर्नुभयो ।

असफलताले नै पाठ सिकाएर मानिसलाई सफल बनाउने बताउँदै उहाँले विश्वमा यस्ता धेरै उदाहरण रहेको प्रष्ट पार्नुभयो । अध्यक्ष ओलीले आफूमा आत्मविश्वास जगाएर काम गर्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।

मस्तिष्कमा घमण्ड पसेपछि ज्ञान पस्न नसक्ने बताउँदै उहाँले परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई दिमागको कुनै पनि कुनामा घमण्ड नराख्न आग्रह गर्नुभयो । विद्यार्थीलाई निरन्तर ज्ञान प्राप्त गर्ने कोसिसमा लाग्न सुझाव दिँदै नियमित अध्ययन नगर्ने हो भने कुनै पनि डिग्रीले काम नगर्ने उहाँले प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्