सरकारबाट बाहिरियो एमाले,प्रधानमन्त्री दाहाल अल्पमतमा
काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको बर्तमान सरकार अल्पमतमा परेको छ।सत्ता गठबन्धनमा आवद्ध सबै भन्दा ठुलो दल नेकपा एमाले बुधबार सरकारबाट बाहिरिएसंगै प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा परेको हो।

प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै एमालेबाट सरकारमा सहभागी भएका आठ जना मन्त्रीले प्रधानमन्त्रीलाई साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर राजीनामा बुझाएका छन् ।प्रतिनिधिसभामा एमालेका ७९ जना सांसद रहेका छन्।
उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, कृषि तथा पशुपंक्षी विकास मन्त्री ज्वालाकुमारी साह, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई र रक्षामन्त्री हरिप्रसाद उप्रेतीले राजीनामा दिएका हुन् ।
एमालेले कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न लागेको छ । गएको सोमबार राति कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने समझदारी भइसकेको छ । संविधानको धारा ७६ (२) अनुसार सरकार बनाउन आवश्यक बहुमत जुटिसकेको भन्दै एमाले र कांग्रेस दुवैले प्रधानमन्त्री प्रचण्डलाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरेका छन् ।

