नेपाल र पाकिस्तानले व्यापार र आर्थिक क्षेत्रमा सहयोग विस्तार गर्नुपर्नेमा जोड



काठमाडौं। उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले शिष्टाचार भेट गर्नुभएको छ ।

उपराष्ट्रपतिको कार्यालय लैनचौरमा शुक्रबार भएको भेटमा द्विपक्षीय सम्बन्ध, व्यापार तथा आर्थिक सहयोग, शैक्षिक तथा सांस्कृतिक सहयोग र क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोगका विषयमा छलफल भएको पाकिस्तानी दूतावासले जनाएको छ ।

उपराष्ट्रपति यादवले सन् १९६० मार्च २० मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै नेपाल र पाकिस्तानबीच घनिष्ठ र सुमधुर सम्बन्ध रहेको बताए । उनले भने, ‘हामीले अर्थमन्त्रीस्तरमा संयुक्त आर्थिक आयोग (जेईसी) र परराष्ट्र सचिवस्तरमा द्विपक्षीय राजनीतिक परामर्श संयन्त्र (बीसीएम) स्थापना गरेका छौं । यी संयन्त्रमार्फत संवाद र सम्पर्कलाई निरन्तरता दिन आवश्यक छ । उनले दुई देशबीचको उच्चस्तरीय भ्रमणको आदानप्रदानले हाम्रो सम्बन्धका सबै पक्षमा सधैं गतिशीलता र गुणस्तर वृद्धि भएको बताए ।

उपराष्ट्रपति यादवले नेपाल र पाकिस्तानले व्यापार र आर्थिक क्षेत्रमा सहयोग विस्तार गर्नुपर्नेमा जोड दिए । ‘हाम्रा दुई देशले व्यापार, लगानी, पर्यटन, संस्कृति, जनता–जनताबीचको सम्बन्धलगायत आपसी सहयोगका धेरै क्षेत्रमा मिलेर काम गर्न सक्छन्,’ उनले भने ।

उनले जलविद्युत, पर्यटन, पूर्वाधार, सूचना प्रविधिलगायत क्षेत्रमा लगानी गर्न पाकिस्तानी लगानीकर्तालाई नेपालले स्वागत गर्ने बताए । सन्तुलित व्यापार र आर्थिक गतिविधिलाई थप विस्तार गरेर दुवै देशले लाभ लिन सक्ने उपराष्ट्रपति यादवले पाकिस्तान प्राविधिक सहायता कार्यक्रमअन्तर्गत चिकित्सा, दन्तचिकित्सा, फार्मेसी र इन्जिनियरिङ अध्ययन गर्नका लागि वार्षिक छात्रवृत्ति उपलब्ध गराएकोमा नेपाली विद्यार्थीलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस क्षेत्रमा थप सहयोग हुने बताए ।

त्यस अवसरमा राजदूत अबरार एच हाश्मीले नेपाल र पाकिस्तानबीचको सम्बन्ध निकै सुमधुर रहेको उल्लेख गर्दै दुई देश मिलेर अघि बढ्नुपर्ने बताए । उनले नेपाल र पाकिस्तानबीच अवरुद्ध भएको हवाई सेवा सुचारु गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘पाकिस्तान नेपाललाई पर्यटन, व्यापारलगायतका क्षेत्रमा सहयोग गर्न तयार छ ।

प्रतिक्रिया दिनुहोस्