एमाले सोलुखुम्बुको अधिबेशन सुरु,सर्बसम्मत रूपमा नेतृत्व चयन गर्नुपर्नेमा नेताहरूको जोड
सोलुखुम्बु।नेकपा एमाले सोलुखुम्बुको ८ औं जिल्ला अधिबेशन सुरु भएको छ।
शुक्रबार सल्लेरीमा सुरु अधिबेशनको प्रमुख अतिथि पूर्ब उपप्रधान एबम् गृहमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले गर्नुभएको हो।अधिबेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अधिकांश नेताहरुले पार्टी नीति र नेतृत्वलाई हाक्ने किसिमको सबल र सक्षम नेतृत्व सर्बसम्मत चयन गर्नुपर्नेमा जोड दिनुभएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बादलले नेकपा एमाले सोलुखुम्बुको यो अधिबेशनले पार्टी निर्माण र नीति निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने बिश्वास व्यक्त गर्नुभयो।हामीले बिचार समूह भएको कम्युनिस्ट पार्टी निर्माण गर्ने कि स्वार्थ समूह भएको पुँजिबादी पार्टी निर्माण गर्न खोजिरहेका छौं अधिबेशनले निर्क्यौल गर्नुपर्ने बताउंदै वहाँले कम्युनिस्ट पार्टी स्वयंसेवी संगठन भएकाले समाज,राष्ट्र,जनताहरुको हितमा काम गर्ने नीति र नेतृत्वलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।
सोलुखुम्बु भौगोलिक रूपमा अथाह प्राकृतिक श्रोत र साधन भएको जिल्ला भएकाले यसलाई जिल्लाबासीका लागि स्वर्ग बनाउन सकिने धारणा राख्दै वहाँले पार्टी नीति तथा कार्यक्रमहरुमा जिल्लाको अवस्थाका आधारमा बिशिष्टीकृत गरेर अगाडी बढ्न सुझाव समेत दिनुभयो।
अहिलेको राजनैतिक ब्यबस्था बुर्जुवा लोकतन्त्र भएको बताउंदैं वहाँले समाजबादी लोकतन्त्र स्थापनाका लागि एमालेले मिसन ०८४ अभियान सञ्चालन गरेको स्पष्ट पार्नुभयो।’समाजबादी लोकतन्त्र स्थापनाका लागि नीति नियम त्यसै अनुसारको निर्माण गर्नुपर्छ।संसदमा बहुमत भएन भने त्यस किसिमको नीति निर्माण गर्न र कार्यान्वयन गर्न सकिंदैन।त्यही भएका कारण एमालेको एकल बहुमत आवश्यक देखेर मिसन ०८४ अभियान चलाएको हो’- वहाँले भन्नुभयो।
उपाध्यक्ष बादलले एमालेले ०८१ लाई पार्टी शुद्धीकरण बर्षका रूपमा मनाउने तयारी गरिरहेको जानकारी पनि त्यस अवसरमा दिनुभएको थियो।
कार्यक्रममा कोशी प्रदेश कमिटीका संस्थापक मुख्यमन्त्री तथा एमाले स्थायी समिति सदस्य शेरधन राई,केन्द्रीय सदस्य एबम् सोलुखुम्बु जिल्ला इन्चार्ज किशोर अधिकारी,अर्का केन्द्रीय सदस्य एबम् प्रतिनिधिसभा सदस्य मानबीर राई,कोशी प्रदेश कमिटी सचिब राजकुमार भण्डारी,उपसचिव देवान राई,प्रदेश कमिटी सचिवालय सदस्य एबम् राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा,कोशी प्रदेश सचिवालय सदस्य एबम् कोशी प्रदेश सभा सदस्य बुद्धिकुमार राजभण्डारी ,कोशी प्रदेश सभा सदस्य त्रय महेश किराँती,उत्तमकुमार बस्नेत,सूर्यकुमारी सुनुवारले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
अधिबेशन आयोजक कमिटीका अध्यक्ष डुफकुमार बास्तोलाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा स्वागत मन्तव्य उपाध्यक्ष हर्क राई र सञ्चालन सचिब आशकुमार राई शिशिरले गर्नुभएको थियो।कार्यक्रममा पार्टीको मुखपत्र सूर्यको सार्बजनिक गर्नुका साथै ०७९ को निर्बाचनमा निर्बाचित तिनै तहका जनप्रतिनिधिलाई सम्मान समेत गरिएको थियो।
उद्घाटन सत्रपछि बन्द सत्र सञ्चालनका लागि जिल्ला इन्चार्ज समेत रहनुभएका केन्द्रीय सदस्य किशोर अधिकारीको संयोजकत्वमा ९ सदस्यीय अध्यक्ष मण्डलको संगै विभिन्न समितिहरुको घोषणा समेत गरिएको छ।