माप्यमा कांग्रेस-माओवादी केन्द्र परित्याग गर्ने क्रम बढ्दो



सोलुखुम्बु।माप्यदुधकोशी गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्ने क्रम बढेको छ।

जिल्लाभर राजनीतिक चहलपहल करिब शुन्य रहेका बेला माप्यदुधकोशीमा भने एमाले प्रवेशको क्रम बढ्नुलाई एमालेका प्रभावशाली नेता तथा गाउँपालिका अध्यक्ष बुद्धिकिरण राई नेतृत्वको स्थानीय सरकारको कार्यशैली, अघि सारेका बिकास योजना र पर्यटन प्रबर्द्धन सम्बन्धि कार्यक्रमलाई प्रमुख कारक मानिएको छ।

आइतबारमात्रै गाउँपालिकाको वडा नं-४ काँकुका सक्रिय कांग्रेस कार्यकर्ता तथा पूर्ब पार्टी सभापति डिक्पा राई नेकपा एमालेमा प्रवेश गरेका छन्।खास्तावमा आयोजित कार्यक्रममा राईलाई नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधिसभा सदस्य मानबीर राई,पूर्बमन्त्री एबम् कोशी प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी र नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोला लगायतका नेताहरुले खादा लगाएर पार्टीमा स्वागत गरेका थिए।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेताहरूले नेकपा एमाले किसान, मजदुर लगायत सबै क्षेत्र र समुदायका जनताको पार्टी भएको बताउँदै मुलुकको बागडोर एमालेको हातमा पुगेमात्र सबैको हित हुने बताएका थिए।नेकपा एमाले नेतृत्वको सरकारले मात्र जनताको हित,मुलुकको समृद्धि र बिकासमा सबैले अनुभूत गर्ने गरी काम गर्ने गरेको उनीहरूको भनाई थियो।

कार्यक्रममा केहि दिन अघिमात्रै सोही वडाका नेकपा माओवादी केन्द्रका सक्रिय स्थानीय नेता अनिल राई पनि एमालेमा प्रवेश गरेको जानकारी गराईएको थियो।महिना दिन यतामात्रै नेकपा माओवादी केन्द्रमा सक्रिय दर्जन बढी कार्यकर्ता एमालेमा प्रवेश गरिसकेको गाउँपालिका कमिटी सदस्य खासबिर राईले बताए।

प्रतिक्रिया दिनुहोस्