राईजिङ्ग स्टार्स बेसबल क्लबको अध्यक्षमा थापा
मन्दिरा अधिकारी,भक्तपुर।विगत १२ वर्ष देखि भक्तपुरमा बेसबल तथा सफ्ट बल खेलको विकास एवं विस्तारमा तल्लीन रहेको राईजिङ्ग स्टार्स बेसबल क्लबको पहिलो अधिवेशनबाट अध्यक्षमा रोशन थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

विगत १२ वर्ष भन्दा लामो समय देखि भक्तपुरमा खेलको विकास तथा प्रशिक्षण प्रदान गर्दै आएको उक्त क्लबको उपाध्यक्षमा भने लक्ष्मी कुवर थापा , सचिवमा निश्चल केसी, कोषाध्यक्षमा उज्ज्वल राउत, सदस्यहरूमा सगुन खिचाजु, रमा राउत, प्रदीप पौडेल, विशाल खड्का, पूजन खिचाजु, कृपेश कार्की र अनिल थापा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
निर्वाचित सम्पूर्ण पदाधिकारीहरूलाई चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी , भक्तपुर बेसबल तथा सफ्ट बल सङ्घका अध्यक्ष मनोरञ्जन थापा लगायतका महानुभावहरूले पद तथा गोपनीयताको शपथ खुहाउनुभएको थियो ।
कार्यक्रममा नेपाल बेसबलका राष्ट्रिय खेलाडीहरूलाई सम्मान समेत गरिएको थियो । राईजिङ्ग स्टार्स बेसबल क्लबले हाल सम्म एक दर्जन भन्दा बढी राष्ट्रिय खेलाडी उत्पादन गरी सकेको छ भने हाल पनि आधा दर्जन भन्दा बढी खेलाडी यसै क्लबबाट राष्ट्रिय टिममा खेल्दै आएका छन् ।
यस क्लबले विगत १२ वर्ष देखि भक्तपुरका विभिन्न विद्यालयमा निःशुल्क प्रशिक्षण तथा खेलाडी उत्पादनमा योगदान दिँदै आएको छ भने आधा दर्जन भन्दा बढी मुलुकमा खेलको प्रदर्शनी गरी सकेको छ ।

