राष्ट्रियसभामा नेपाली कांग्रेस संसदीय दलको नेता सिटौला मनोनीत
काठमाडौं।राष्ट्रिय सभामा नेपाली कांग्रेसको संसदीय दलको नेतामा कृष्णप्रसाद सिटौलालाई मनोनीत गरिएको छ।

राष्ट्रियसभा अध्यक्षको उम्मेदवारको चर्चामा रहेका सिटौलालाई संसदीय दलको विधानअनुसार, सभापति समेत रहेका नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले शनिबार राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत गरेको नेपाली कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ।
संसदीय दलका नेताका निजी सचिव केशवराज जोशीले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १२ को उपधारा १ बमोजिम राष्ट्रिय सभा सदस्य माननीय श्री कृष्णप्रसाद सिटौलाज्यूलाई राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेता पदमा मनोनयन गर्नु भएको छ।’
गत माघमा भएको राष्ट्रिय सभा निर्वाचनमा सिटौला कोशी प्रदेशको अन्यतर्फबाट निर्वाचित भएका थिए। नेकपा माओवादी केन्द्रसँगको सत्ता गठबन्धनमा हुँदा उनलाई नै राष्ट्रिय सभाको अध्यक्ष बनाउनेबारे चर्चा भएको थियो।
तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभा अध्यक्ष नेकपा माओवादी केन्द्रकै हुनुपर्ने दाबी गरेका थिए। अहिले उनले सत्ता गठबन्धन परिवर्तन गरी नेकपा एमालेको साथ लिएका छन्।

