राष्ट्रियसभा सदस्य निर्बाचनको मतदान जारी,बालेनले बहिष्कार गर्ने
काठमाडौं। राष्ट्रियसभाको १९ सदस्यका लागि आज सात प्रदेशका सम्बन्धित राजधानीका तोकिएका मतदानस्थल र केन्द्रमा मतदान भइरहेको छ ।

निर्वाचन आयोगले आज बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदानका लागि समय निर्धारण गरेको छ भने मतदान सकिने बित्तिकै गणना प्रारम्भ गर्ने बताएको छ । आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीका अनुसार सातै प्रदेशमा मतदान भइरहेको छ । आजै परिणाम सार्वजनिक हुनेछ ।
राष्ट्रियसभा सदस्यका लागि मतदाता रहेका प्रदेशसभा सदस्यको ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले गणना हुनेछ ।
हाल कायम प्रदेशसभा सदस्य पाँच सय ४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार चार सय ९८ मतदाता रहेका छन् । प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख गरी दुई हजार ४७ मतदाता गरी कुल मतभार ५७ हजार पाँच सय ५९ हुनेछ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले भने राष्ट्रिय सभा निर्वाचन बहिष्कार गर्ने भएका छन्।मतदानको समय ३ बजेसम्म भएपनि उनले निर्बाचनमा मतदान नगर्ने उनका निकटस्थहरुले बताएका छन्।उपप्रमुख सनिता डंगोल भने मतदानका लागि हेटौंडा पुगेकी छन् ।यसअघि मंसिर ४ गते भएको प्रदेशसभा चुनावमा पनि मतदान गरेका थिएनन्।

