काठमाडौंको न्युरोडमा सवारी पार्किङ निषेध,बिरोधमा ब्यापारीहरु



काठमाडौं। काठमाडौं महानगरपालिकाले मंगलबारदेखि न्युरोड क्षेत्रको कालोपत्र सडकमा सवारी पार्किङ निषेध गरेको छ। महानगरले काठमाडौं टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा आजदेखि पार्किङ गर्न नपाइने जनाएको हो।

महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले विकल्पमा काठमाडौं टावरमा तीन सयवटा चारपाँग्रे र सात सयवटा दुईपाँग्रे सवारी साधन पार्किङ गर्न सकिने बताएका थिए।

पार्किङ निषेध गरिएपछि त्यस क्षेत्रमा लाग्ने सवारी पार्किङको लस्कर घटेको छ। यद्यपि, हल्काफुल्का सवारी पार्किङ भने भइरहेका छन् । जसलाई त्यहाँ परिचालित नगर प्रहरीले हटाइरहेको छ ।तर महानगरले सवारी पार्किङ निषेध गरेपछि त्यस क्षेत्रका ब्यापारीले भने पसल बन्द गरेर उक्त कदमको बिरोध गरेका छन्।

पार्किङ निषेध गरेर ती ठाउँमा विशेष सरसफाइ गर्ने नगर प्रहरीको तयारी छ ।

नगर प्रहरीका अनुसार काठमाडौंका धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबौद्ध, वीरअस्पताल वरपरको कालोपत्र सडकमा पार्किङ निषेध गरिँदै छ ।

प्रतिक्रिया दिनुहोस्