भारतको अयोध्यामा आज राममन्दिरको प्राण प्रतिष्ठा गरिँदै, नेपालभित्र यस्तो छ चहलपहल



काठमाडौं।लामो समयको संघर्षपछि भारतको अयोध्यामा आज राम मन्दिरको प्राणप्रतिष्ठा गरिंदैछ।हिन्दु र मुस्लिमबीचको लामो समयदेखिको विवाद अन्त्य गर्दै सन् २०१९ मा नोभेम्बर ९ मा भारतको सर्वोच्च अदालतले अयोध्यायको सो भूमि राम जन्मभूमिको भनी फैसला गरेपछि राम मन्दिरको प्राणप्रतिष्ठा गर्ने बाटो खुलेको थियो।

आज राम मन्दिरको अभिषेक हुँदा दशकौंदेखि बाबरी मस्जिदभित्र राखिएको रामको पुरानो मूर्ति पनि ठूलो र नयाँ मूर्तिको साथमा मन्दिरको गर्भ गृहमा विराजमान हुनेछ । बाबरी मस्जिद भत्काएपछि पुरानो मूर्तिलाई लामो समय अस्थायी त्रिपालको मन्दिरमा राखिएको थियो । ४० वर्षको संघर्षको परिणतिको प्रतीक पनि जनवरी २२ हुनेछ ।भारतीय समयअनुसार बिहान ८ः३० बजे गणेशको पूजा गरेर प्रतिष्ठान समारोह सुरु हुनेछ । त्यसपछि बिहान १० बजे राममन्दिरमा मंगल ध्वनि बजाएर पूजा कार्यक्रम गरिनेछ ।
 
५ सय वर्ष पुरानो इतिहास बोकेको अयोध्यास्थित राम मन्दिरको यो आधुनिक ‘प्राणप्रतिष्ठा’ ले नेपालमा समेत उत्साहको सञ्चार गरेको छ। जानकी भूमि जनकपुर र राम भूमि अयोध्याको यो साइनो धर्मले मात्रै नभएर वैवाहिक साइनो पनि गाँसिएका कारण राम मन्दिरको प्राण प्रतिस्ठाले नेपालको धार्मिक समुदायमा बिशेष महत्व पाएको हो।

जनकपुरधाम उपमहानगरपालिकाले राममन्दिरको प्राणप्रतिष्ठाको दिन नगरवासीलाई दिपोत्सव गरेर मनाउन अपिल गर्नुको कारण पनि यही नै हो । उपमहानगरले सूचना जारी गर्दै भारतको अयोध्यामा सोमबार हुने राम मन्दिर प्राणप्रतिष्ठाका दिन जनकपुरधामका सम्पूर्ण नागरिकलाई दिपावली मनाउन र राम तथा जानकी मन्दिरमा उपस्थित भई दिप प्रज्वलन गर्न अपिल गरेको हो । महानगरले भारत र नेपालबीचको सम्बन्ध सदियौं पुरानो रहेकाले जनकपुरधामबासीका लागि पनि जनवरी २२ निकै महत्वपूर्ण रहेकाले दिपोत्सव गर्न आग्रह गरेको हो ।

राम मन्दिरको प्राण प्रतिस्ठाको अवसरमा आजै भगवान रामको ससुराली जनकपुरधामस्थित जानकी मन्दिरमा सवा लाख दियो बाल्ने तयारी भइरहेको छ । जानकी मन्दिरका उत्तराधारी महन्त रामरोशन दासका अनुसार राममन्दिरको प्राणप्रतिष्ठाका दिन १ लाख २५ हजार दियो बाल्नुका साथै विशेष आरतीको पनि आयोजना गरिनेछ ।

हिन्दु स्वयंसेवक संघ नेपालले नेपालभरका ५ हजार मन्दिरमा त्यो दिन मध्याह्न १२ बजेदेखि १ बजेसम्म सत्संग भजनकीर्तन गर्ने, विजय महामन्त्र जप, आरती तथा प्रसाद वितरण अनि साँझ सबै हिन्दुहरूले दीप उत्सव गर्न आह्वान गरिएको जनाएको छ । त्यस्तै नेपालको बत्तीसपुतलीमा रहेको मन्दिरमा सोमबारकै दिन रामको मूर्तिको प्राणप्रतिष्ठान गर्ने तयारी गरिएको छ ।

यस्तै, अर्घाखाँचीको सिद्धेश्वर शिवालय र शान्ति बगैंचाको १ सय ८ गणेश पाञ्चायन मन्दिरमा जय जयकार र दीप प्रज्वलन गरिने भएको छ । पाँच सय वर्षपछि भारतको अयोध्यामा प्रभु श्रीरामको मन्दिर बनेर भोलि प्राणप्रतिष्ठान र उद्घाटनको खुसियालीमा सिद्धेश्वर शिवालयमा दीप प्रज्ज्वलन र श्री रामको जयजयकार गरिने भएको छ ।

भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको प्राणप्रतिष्ठामा सप्तरीको राजविराज नगरपालिकाले सार्वजनिक बिदा घोषणा गरेको छ । यसैगरी, कपिलवस्तुका चार स्थानीय तहले सार्वजनिक विदा घोषणा गरेका छन् ।कपिलवस्तुका कपिलवस्तु, शिवराज र कृष्णनगर नगरपालिका तथा शुद्धोधन गाउंपालिकाले माघ ८ गते स्थानीय विदा घोषणा गरेका हुन् ।सार्बजनिक बिदा घोषणा गरेका ती स्थानीय तहले आफ्नो क्षेत्रभित्र माछा, मासु, मदिरा बिक्रीवितरण बन्द गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्