पूर्ब सांसद तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर,अर्को पेसीमा सजाय निर्धारण हुने



काठमाडौं।पूर्व सांसद एवं व्यवसायी इच्छाराज तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदाललते दोषी ठहर गरेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार उनलाई दोषी ठहर गरेको हो भने सजाय अर्को पेसीमा निर्धारण गर्ने छ।

तीन वर्षभन्दा माथिको कैद सजाय हुने मुद्दामा पुन: अर्का पेसी तोकेर सजाय निर्धारण गर्नुपर्ने मुलुकी अपराधसंहिताको व्यवस्था अनुसार केही दिनपछि विशेषले उनलाई सजाय निर्धारण गर्ने छ।

गत मंगलबारबाट तामाङको मुद्दामा अन्तिम सुनुवाइ सुरु भएको थियो। मुद्दा हेर्दा हेर्दै राखेर सुनुवाइ भइरहेको थियो। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्व अध्यक्ष तामाङसहित उनको परिवारका ६ जनाविरुद्ध २०७९ भदौ १६ गते मुद्दा दायर गरेको थियो।

विभागले तामाङ, उनकी श्रीमती, दुई छोरी, सहकारीका तत्कालीन अध्यक्ष केवशलाल श्रेष्ठ र उनकी श्रीमती बिना श्रेष्ठसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो।

विभागले दायर गरेको मुद्दामा ३ अर्ब ३१ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको दावी गरिएको छ। यस्तै, तामाङकी श्रीमती सिर्जना शाक्यले १ अर्ब ३ करोड रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको विभागको दाबी छ।

तामाङका छोरीहरु प्रतिक्षासँग ६ करोड २२ लाख र प्रतिशाले १ करोड ८९ लाख, सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठले २६ करोड रुपैयाँ सम्पत्ति गैरकानुनी देखिएको अभियोगपत्रमा दाबी गरिएको छ। कूल बिगो ५ अर्ब ६७ करोड ५५ लाख रुपैयाँ दाबी गरिएको छ।

प्रतिक्रिया दिनुहोस्