भुमेश्वरी माबिको अभिभावक भेला सम्पन्न,विद्यार्थी सहायताका लागि अक्षय कोषको शुभारम्भ



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेचासल्यान गाउँपालिकाका अध्यक्ष धनजन राईले वडा नं-१ को भूगोल बिकट रहेका कारण यहाँका विद्यार्थीहरुको सहजताका लागि आगामी बर्षसम्ममा विद्यालय बसको ब्यबस्था गर्न आफु लागि परेको बताउनुभएको छ।

गाउँपालिकाको वडा नं १ ख्याम्पुमा रहेको भुमेश्वरी माबिको अभिभावक भेला,शुभकामना आदानप्रदान तथा नतिजा प्रकाशन कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै अध्यक्ष राईले सो कुरा बताएका हुन।भुमेश्वरी माबिको ऐतिहासिक र भौतिक पक्षको चर्चा गर्दै अध्यक्ष राईले विद्यालयलाई अझ ब्यबस्थित बनाउंदै लैजान अभिभावकीय भूमिका निर्बाह गर्न आफुले कुनै किसिमको कन्जुस्याइँ नगर्ने स्पस्ट पारे।

विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष लाक्पा शेर्पाको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडाध्यक्ष रमेशकुमार राईले भुमेश्वरी माबिको शैक्षिक तथा भौतिक बिकासमा आफु प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रधानाध्यापक लालप्रसाद बास्तोलाले ९८ लाख रुपैयाँ बराबरको आय-ब्यय विवरण प्रस्तुत गरेको सो कार्यक्रममा विद्यालय ब्यबस्थापन समिति,शिक्षक अभिभावक संघ र शिक्षकहरुको संयुक्त बैठकले गरेको निर्णय अनुसार विद्यार्थी सहायता कोष निर्माणका लागि अक्षयकोष ब्यबस्थापन सञ्चालनमा ल्याईएको घोषणा गरिएको थियो।

कोषका लागि गाउँपालिका अध्यक्ष राईले १० हजार,वडा नं १ का वडाध्यक्ष राईले ११ हजार विद्यालयका प्रधानाध्यापक बास्तोलाले २५ हजार,शिक्षक खगिन्द्रराज बास्तोलाले १० हजार १ सय एक र स्थानीय ज्येष्ठ नागरिक टंक बहादुर मगरले एक हजार पचपन्न गरि कुल ५७ हजार १ सय ५५ रुपैयाँ संकलन भएको छ।

प्रतिक्रिया दिनुहोस्