शिक्षक एकताका लागि आईपरे सम्बद्ध पार्टीसँगको सम्बन्ध तोड्ने सोलुखुम्बुका शिक्षकहरुको निर्णय
सोलुखुम्बु।नेपाल शिक्षक महासंघ आवद्ध सोलुखुम्बुका शिक्षकहरुले शिक्षक एकता कायम राख्न आग्रह गर्दै परी आए विभिन्न पार्टीसंगको सम्बन्ध तोड्ने निर्णय गरेका छन्।
राहत शिक्षकहरुको जारी आन्दोलनप्रति ऐक्यबद्द्ता जनाउँदै महासंघ आवद्ध विभिन्न घटकका प्रमुखहरुको समीक्षात्मक बैठकपछि जिल्ला कार्य समितिले शनिबार प्रेस बिज्ञप्ति जारी गर्दै त्यस्तो निर्णय भएको जनाएको हो।
महासंघ अध्यक्ष लालप्रसाद बास्तोला,नेपाल शिक्षक संघका अध्यक्ष मदनकुमार राई,नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष टंक प्रसाद दाहाल,एकीकृत अखिल नेपाल शिक्षक संघका अध्यक्ष हस्तबहादुर राई,प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष जीन्दा राई र राहत शिक्षक संघ सोलुखुम्बुका अध्यक्ष खगिन्द्रराज बास्तोलाद्वारा संयुक्त रुपमा हस्ताक्षरित बिज्ञप्तिमा नेतृत्वले खुट्टा कमाएका कारण महासंघले नेतृत्व गरेको आन्दोलन फिर्ता भएको भन्दै खेद पनि प्रकट गरिएको छ ।
‘काठमाडौं केन्द्रित सडक आन्दोलनमा लाखौं शिक्षकहरुको महासागरले आफ्ना माग र मुद्दाहरु लिएर अघि बढ्दा केन्द्रीय नेतृत्वले खुट्टा कमाउने प्रवृत्तिले निरन्तरता पाएकोमा शंका छैन’ बिज्ञप्तिमा भनिएको छ- ‘जसका कारण केहि माग र मुद्दा पूरा भएपनि केहि अधुरा रहेकाप्रति नेपाल शिक्षक महासंघ जिल्ला समिति सोलुखुम्बु खेद प्रकट गर्दछ।’
महासंघ राष्ट्रिय समितिले सरकारसंग गरेका सहमति अक्षरश: पालना गराउन खबरदारी गरिएको बिज्ञप्तिमा सोमबारदेखि विद्यालय सुसञ्चालन गरिने जनाईएको छ।राहत शिक्षकहरु अझै आन्दोलनमा रहेका कारण उनीहरूको बिदा मिलाईदिन प्रधानाध्यापकलाई बिज्ञप्तिमार्फत अनुरोध पनि गरिएको छ।
स्मरणीय छ, सरकार र महासंघबीच शुक्रबार भएको सात बुंदे सहमतिप्रति असन्तुष्टि प्रकट गर्दै राहत शिक्षकहरुले आन्दोलनलाई निरन्तरता दिंदै आएका छन्।