थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष राईले गरे एकै दिन दुईवटा गौरवको योजनाको शिलान्यास



सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिकामा एकै दिन दुईवटा गौरवको योजनाको शिलान्यास गरिएको छ । गाउँपालिका अध्यक्ष असिम राईले उक्त योजनाको शुक्रबार शिलान्यास गर्नुभएको हो ।

गाउँपालिकाको वडा नम्बर ६ मा निर्माण हुने खेलग्राम र थुलुङ दुधकोशी आवास भवनको एक कार्यक्रमका बिच शिलान्यास गरिएको गाउँपालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो ।

साढे २ वर्षमा नेपाल फुलबारी सेवा प्रा.लि. काठमाडौले रु. १४ करोड ५३ लाखमा खेलग्रामका लागि आवश्यक संरचना निर्माण गर्नेछ । गाउँपालिका प्रवक्ता कार्कीका अनुसार ड्रेसिङ तथा चेन्जिङ रुम, गेट लगायत फुटबल र भलिबल खेलका लागि आवश्यक संरचना लगायत निर्माण हुनेछ । जिल्लामानै सुविधा सम्पन्न खेलग्राम निर्माण हुनेभएपछि स्थानीयबासी हर्षित भएका छन ।

जग्गादाता समेत रहेका बम बहादुर कार्कीले आफुहरुले चाहेकै जस्तो बिकास भैरहेको भन्दै पालिका अध्यक्ष असिम राई सहितलाइ धन्यवाद दिनुभयो । खेलग्राम निर्माण गर्नको लागि स्थानीय ११ जनाले ३५ रोपनी जगा निशुल्क जग्गा उपलब्ध गराएका छन ।

यस्तै थुलुङ दुधकोशी आवास १६ महिना भित्र नेफा सृजना जेभीले रु. १ करोड ९५ लाखमा निर्माण गर्नेछ । उक्त भवन निर्माणका लागि जगत बहादुर राईले जग्गा उपलब्ध गराएका छन । कर्मचारी सहितका लागि सरकारी आवास निर्माण गर्ने थुलुङ दुधकोशी जिल्लामै पहिलो स्थानीय तह बनेको छ ।

शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष असिम राईले निर्माण व्यवसायी इमानदार बनेको अवस्थामा निर्धारित समयमा गुणस्तरीय काम सम्पन्न हुने बताउनुभयो । विभिन्न क्षेत्रमा निर्माणको जिम्मा लिएका निर्माण कम्पनी जिम्मेवार नबन्दा जनप्रतिनिधि आलोचित बनेको भन्दै पालिका भित्रका कार्यमा गुणस्तरीय र समयसीमामा सम्झौता नगर्ने उहाँको भनाइ छ ।

योजना सम्पन्न गर्नका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको भन्दै अध्यक्ष राईले मातहतका कर्मचारी र जनप्रतिनिधिलाई सहयोग गर्न र निर्माण व्यवसायीलाई सहकार्य गर्न निर्देशन दिनुभयो । पालिकाले समन्वय गरि बजेट व्यवस्था भइ नियमानुसार ठेक्का सम्झौता भएको बर्खुघाट र दिप्लीघाट मोटरेवल पुल लगायतको कार्य निर्माण व्यवसायीको कमजोरीका कारण अघि नबढ्दा आफुहरुले गाली खानुपरेको उहाको भनाइ छ ।

यस्तै गाउँपालिका उपाध्यक्ष सविता राईले निर्माण व्यवसायीको कारण समयमा नै कार्य सम्पन्न नहुने देखि मजदुरले ज्याला नपाउने सम्मको गुनासो छ्यापछ्याप्ती रहेको बताउनु भयो । पालिकाले अनुगमन र सहकार्य गर्ने सवालमा कुनै पनि सम्झौता नगर्ने उहाँको भनाइ छ ।

निर्माण कम्पनी नेपाल फुलबारी सेवा प्रा.लि. काठमाडौका प्रमुख राम बहादुर कटुवाल ( राजेश)ले निर्धारित समय अगाडि नै गुणस्तरीय कार्य गरि जिम्मा लगाउने प्रतिवद्वता व्यक्त गर्नुभयो ।

कार्यक्रममा पालिका अध्यक्ष असिम राई, उपाध्यक्ष सविता राई, वडा नम्बर २ का वडा अध्यक्ष युजन बस्नेत, ३ का अध्यक्ष इन्द्रमणी दाहाल, ६ का अध्यक्ष महेन्द्र दिप राई र वडा नम्बर ७ का वडा अध्यक्ष तथा पालिका प्रवक्ता भोजराज कार्की र ८ का वडा अध्यक्ष राजेश बाबू किराँती सहित निर्माण व्यवसायी, कर्मचारी र स्थानीयबासीको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्