सिटिजन्स बैंकको १७ औं वार्षिक साधारणसभा असोज २६ मा हुने
काठमाडौं । सिटिजन्स बैंकले २६ असोजमा १७ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।
बैंकले साधारणसभाबाट आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नेछ । यस्तै बैंकको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन सहित २०८० असार मसान्तको बैंकको एकीकृत वासलात, गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाहको विवरण लगायतका वित्तीय विरणहरु पारित गर्ने प्रस्ताव साधारणसभामा पेश गर्नेछ ।
बैंकले साधारणसभामा सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पारित पनि गर्नेछ । बैंकको सञ्चालक समितिले गत आर्थिक वर्षको मुनाफा तथा सञ्चित नाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर प्रयोजनका लागि समेत ५.७९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।बैंकले साधारणसभा प्रयोजनका लागि १५ असोज एक दिने सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गर्ने निर्णय गरेको छ । यस अनुसार १४ असोजसम्म कायम सेयरधनीले बैंकको प्रस्तावित लाभांश पाउनेछन् भने साधारणसभामा सहभागी हुन सक्नेछन् ।
बैंकले साधारणसभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसनमा गाभ्ने र गाभिने (मर्ज गर्न) वा प्राप्ति (एक्विजिसन)गर्न तथा वैदेशिक रणनीतिक साझेदारमा जान उपयुक्त देखिएको देखिएमा बैंकको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्न मूल्यांकनकर्ता नियुक्त गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश गर्ने भएको छ ।साथै गाभिने वा प्राप्ती गर्न प्रारम्भिक तथा अन्तिम सम्झौता गर्ने र त्यसको सम्पूर्ण आवश्यक प्रक्रिया गर्न पनि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव बैंकले साधारणसभामा लैजाने भएको हो ।
यस्तै बैंकको साधारणसभाले संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट १ जना सञ्चालक निर्वाचन गर्नेछ ।