शिक्षक आन्दोलनका कारण तेस्रो दिन पनि उपत्यकाको ट्राफिक ब्यबस्थापन अस्तब्यस्त



काठमाडौं।शिक्षकहरूको तेस्रो दिनको आन्दोलन सुरू भएको छ। आन्दोलनका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ। प्रदर्शनका कारण माईतीघर हुँदै सञ्चालन हुने सवारी साधन पुर्ण रुपमा प्रभावित भएका छन् ।

आन्दोलनरत शिक्षकहरुको प्रदर्शनका कारण बबरमहल, सिंहदरबार र थापाथलीबाट माइतीघर चोकतर्फ जाने सवारी साधन प्रभावित भएपछि सवारी आवामनलाई सहज बनाउन ठुला सवारी साधनलाई रिंङरोडको गौशाला, तीनकुने, महाराजगञ्ज, कलंकी, बल्खु, सातदोबाटोबाट डाईभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

यस्तै साना सवारी साधनलाई पनि हनुमानस्थान, नयाँबानेश्वर, थापाथली, भद्रकाली, पद्मोदयमोड, कृष्णपाउरोटी र घण्टाघरबाट सवारी साधनलाई डाईभर्सन गरेको छ।डाइभर्सनका कारण नयाँबानेश्वर पानीट्याङकी,बिजुलीबजार, हनुमानस्थान, अनामनगर, शान्तीनगर, बुद्वनगर, तीनकुने गैह्रिगाँउ, पुरानोबानेश्वर, कुपण्डोल, सोह्रखुट्टे, जयनेपाल, कृष्ण पाउरोटी थापाथली, त्रिपुरेश्वर, भद्रकाली, पुतलीसडक, डिल्लीबजार,गौशाला, सिनामंगल, कोटेश्वर र लोकन्थली हुँदै चल्ने सवारी साधन निकै चापमा चलिरहेको जनाउँदै यात्राका लागि पैदलयात्री तथा सवारी चालकलाई अन्य वैकल्पिक मार्ग प्रयोग गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

शिक्षककाृ आन्दोलनका कारण अन्य क्षेत्रको ट्राफिक ब्यवस्थापन पनि अस्तब्यस्त बनेको छ । संसदमा दर्ता भएको शिक्षा विधेयकविरुद्ध शिक्षकहरूले मंगलबारदेखि आन्दोलन सुरु गरेका हुन्।अहिले विद्यालय शिक्षा विधेयकको विरोधमा आन्दोलित शिक्षकहरू र सरकारबीच तेस्रो चरणको वार्ता जारी छ।

सिंहदरबारमा सरकारका मन्त्रीसहितको टोली र आन्दोलनको नेतृत्व गरिरहेको नेपाल शिक्षक महासंघका पदाधिकारीबीच वार्ता भइरहेको छ। वार्तामा उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ,शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई र शिक्षकको तर्फबाट नेपाल शिक्षक महासंघका प्रतिनिधि सहभागी छन।

प्रतिक्रिया दिनुहोस्