बालगृहमा झडप हुँदा बांकेको डुडुवामा एक जनाको मृत्यु, चारको अवस्था गम्भीर
नेपालगञ्ज।बाँकेको डुडुवा गाउँपालिका- ६ स्थित जयन्दु बालसुधार गृहमा विवाद हुँदा घाइते भएका ११ जना मध्ये एक जनाको मृत्यु भएको छ भने चार जनाको अवस्था अझै गम्भीर छ।

मृत्यु हुनेमा रुपन्देहीका २१ वर्षीय सुलभ केसी रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए। उनका अनुसार झडपमा गम्भीर घाइते भएका केसीको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। उनको टाउकोमा गम्भीर चोट लागेको थियो। घाइते अन्य दश जनाको उपचार भइरहेको छ।
प्रहरीले सुधार गृह तोडफोड गर्ने २५ जनालाई नियन्त्रणमा लिएको छ। यतिबेला घटना स्थलमा प्रहरी तैनाथ छ। यद्यपि, सुधारगृहभित्र होहल्ला भइरहे पनि प्रहरी भित्र प्रवेश गर्न भने सकिरहेको छैन।बालसुधार गृहमा तोडफोड र आगजनीसमेत भएको छ। घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार बाल सुधार गृहमा १८ वर्षभन्दा माथिका किशोरहरुलाई पनि राखिएको थियो ।कुल २ सय ५४ जना रहेकामा १८ वर्षभन्दा माथिका एक सय ६ जनालाई त्यहाँ राखिएको पाइएको छ । झडपको कारण खुलेको छैन । तर, उमेर बढी र कम भएकाहरुबीच विवाद भएको हुन सक्ने अनुमान छ ।
यसअघि गएको भदौ ४ गते भक्तपुरको सानोठिमीमा र २६ गते वीरगञ्जको बाल सुधार गृहमा पनि झडप भएको थियो । सानो ठिमीको बाल सुधार गृहमा तोडफोड भएपछि त्यहाँ रहेका १८ जनालाई वीरगञ्ज लगिएको थियो ।

