सरकार र आन्दोलनरत शिक्षकबीच आज पनि वार्ता



काठमाडौं।सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघबीच केहि बेरमा बार्ता सुरु हुने भएको छ। गृह मन्त्रालयमा बिहीबार भएको वार्ता बिना निष्कर्ष टुंगिएपछ आज बिहान ९ बजे फेरि वार्तामा बस्ने समझदारी गरिएको थियो।

हिजो वार्ताको नेतृत्व सरकारका तर्फबाट शिक्षा सचिव सुरेश अधिकारीले गरेका थिए। महासंघको तर्फबाट भने अध्यक्ष कमला तुलाधर र महासचिव लक्ष्मीकिशोर सुवेदी वार्तामा बसेका थिए।

सरकारी वार्ता टोलीमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री प्रकाशरण महत, कानुनमन्त्री धनराज गुरुङ, शिक्षामन्त्री अशोक राई र सञ्चारमन्त्री रेखा शर्मा छन्।

सरकारले एक साताअघि संसद्‍मा प्रस्तुत गरेको नयाँ शिक्षा विधेयकमा समेटिएका बुँदाप्रति असहमति जनाउँदै विभिन्न राजनीतिक दलमा आबद्ध शिक्षकको संस्था नेपाल शिक्षक महासंघले हिजोदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेपछि मुलुकभरका २७ हजार ३४३ सामुदायिक विद्यालयमा अध्ययनरत करिब ७० लाख विद्यार्थीको पढाइ प्रत्यक्ष प्रभावित भएको छ।

महासंघले शिक्षकहरुलाई स्थानीय तहको मातहत राख्न नहुने, हाल कार्यरत, अस्थायी, राहत शिक्षकलाई सीधै स्थायी गर्नुपर्नेलगायत १८ बुँदे माग राखेर काठमाडौं केन्द्रित आन्दोलन थालेको हो।

प्रतिक्रिया दिनुहोस्