संबिधान दिवसका अवसरमा आजपाको अन्तरक्रिया, संबिधानप्रति बक्ताहरुको असन्तुष्टि
काठमाडौं । आम जनता पार्टीले नवौं संविधान दिवसको अवसरमा ‘नेपालको संविधानः साधक कि बाधक’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा पूर्व उपप्रधानमन्त्री, मन्त्री, नागरिक समाजका अगुवा, संविधानविद्लगायतले आफ्नो धारणा राखेका थिए । अधिकांश बक्ताहरुले बर्तमान संबिधान देश र जनताको चाहना परिपूर्तिका लागि भन्दा पनि सिमित नेताहरुको राजनीतिक दाउपेचका लागि ल्याईएका कारण यसले समस्या सुल्झाउने भन्दा बल्झाउने गरेको धारणा व्यक्त गरेका थिए।
अन्तरक्रियामा आम जनता पार्टीका वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री बद्रीप्रसाद न्यौपानेले संविधानले देशलाई दुर्घटनातर्फ लगिरहेको टिप्पणी गरे । संविधानले तीनै तहले कानुन बनाउने अधिकार प्रदान गरेर झनै अन्यौलता सिर्जना गरेको उनको आरोप छ ।
आम जनता पार्टीका उपाध्यक्ष एवं संविधान सभा सदस्य तिलक थापा मगरले संविधान दिवसको अवसरमा खुसी मनाउन नसकिएको बताए । जनताका प्रतिनिधिमार्फत् संविधान सभाबाट जारी भएको संविधान पनि उत्कृष्ट हुन नसकेको भन्दै उनले दुःख व्यक्त गरे ।
आम जनता पार्टीनिकट आईटी आर्मीका अध्यक्ष तथा आजपाका प्रवक्ता चन्द्रभुषण साह (सिबी) ले देशको शासन सत्तामा आम जनताको सर्वोच्चता र वास्तविक लोकतन्त्रको प्राप्ति भईनसकेको बताए । अहिले नेपालमा विकृत संवैधानिक व्यवस्था रहेको दाबी गर्दै उनले देशलाई बचाउन नयाँ व्यवस्थाको थालनी आवश्यक रहेको बताए ।
नागरिक समाजका अगुवा डा. सुन्दरमणि दीक्षितले सात सालदेखि अहिलेसम्म धेरै संविधान बनेर काठमाडौंमा दीप प्रज्वलन भएपनि त्यसले तराईमा अन्धकार कायमै राखेको टिप्पणी गरे । नेपालको संविधान २०७२ जनताको हितमा नभएको पुष्टि भइसकेको उनको भनाई छ ।
कार्यक्रममा वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी,नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य चिरन पुन,नेकपा मालेका महासचिव एवं पूर्वउपप्रधानमन्त्री सिपी मैनालीले अहिले विभिन्न व्यवस्था ल्याउन भन्दा पनि हाम्रो विदेशमुखी सिद्धान्तलाई बदल्न, हाम्रो सत्तामुखी चरित्रलाई बदल्न र अहिलेको आवश्यकता अनुसार राष्ट्रिय पुँजी र सामाजिक पुँजीको निर्माण गर्दै देशलाई परिवर्तनको सही बाटोमा ल्याएर अगाडि बढ्न सशक्त आन्दोलनको आवश्यक औंल्याएका थिए।

