माप्यमा यातायात सेवा नियमित सञ्चालन गर्न ब्यबसायीहरुलाई अध्यक्ष राईको आग्रह



सोलुखुम्बु।लामो तथा छोटो दूरीका यातायात सेवालाई नियमित र प्रभावकारी ढंगले सञ्चालन गर्ने बिषयमा माप्यदुधकोशी गाउँपालिकाले ब्यबसायीहरुसंग अन्तरक्रिया गरेको छ।

स्थानीयको गुनासो सम्बोधन र यातायात ब्यबसायीहरुका समस्याका सन्दर्भमा छलफल गर्न गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको पहलमा मंगलबार अन्तरक्रिया गरिएको हो।

अन्तरक्रियामा गाउँपालिकाका तर्फबाट अध्यक्ष राईसहित उपाध्यक्ष गौरव राई, वडा नं १,३,४,५ र ७ का वडाध्यक्षहरु क्रमशः सज्जन राई, अमित राई,भक्त बहादुर राई,अविरल वाइबा, सजुजित राईका साथै बुद्धिजीवी ,सरोकारवाला तथा
पालिकाभित्रका यातायात ब्यबसायीहरुको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ।

अन्तरक्रियामा पर्यटकहरुको खुम्बु प्रवेश मार्ग समेत रहेको गाउँपालिका क्षेत्रमा नियमित र मर्यादित ढंगले यातायात सञ्चालन हुनुपर्नेमा सहभागीहरुको जोड थियो ।यसका लागि सबै सरोकारवालाहरु आ-आफ्नो ठाउँबाट जिम्मेवार बन्नुपर्ने उनीहरूको भनाई थियो।

अन्तरक्रियामा गाउँपालिका र ब्यबसायीहरुबीच समस्या समाधानका लागि गाउँपालिका र यातायात ब्यबसायीहरुले सहकार्यसहित अघि बढ्ने सहमति जनाएका छन्।

कार्यक्रममा गाउँपालिका अध्यक्ष राईले नागरिकहरुको आवागमनलाई सहज बनाउन नियमित रूपमा यातायात सेवा सन्चालन गर्न स्थानीय ब्यबसायीहरुलाई आग्रह गरेका थिए।

अन्तरक्रियापछि यातायात ब्यबसायीहरुका समस्या समाधानमा गाउपालिकाले सहजीकरण गर्ने र ब्यबसायीहरुले गाउँपालिकामा अनिवार्य रुपमा यातायात तथा सवारी साधन सुचीकृत गरि हरेक बर्ष नवीकरण गरेर नियमित सन्चालन गर्ने सम्झौता समेत भएको बताईएको छ।

प्रतिक्रिया दिनुहोस्