सोलु दुधकुण्ड नगरपालिकाले भन्यो – ‘दरका नाममा लाखौं खर्च गरिएको भन्ने समाचारमा सत्यता छैन’



सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकाले केहि दिन यता तीज बिशेष कार्यक्रमलाई लक्षित गर्दै अतिरञ्जित समाचार प्रबाह भइ रहेको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।

नगरपालिकाका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत कोपिला राईले मंगलबार एक बिज्ञप्ति जारी गर्दै तीजको दरका नाममा भोज भतेर आयोजना गरि लाखौँ रुपैयाँ खर्च गरिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको बताएकी हुन्।

पारदर्शीता र जवाफदेहितामा प्रतिवद्ध रहेको जनाउंदै राईद्वारा जारी बिज्ञप्तिमा तीजका अवसरमा आयोजित खुल्ला नृत्य प्रतियोगिताका बिजयीलाई पुरस्कार,शुभकामना आदानप्रदान तथा
महिला कैदी बन्दीहरुका लागि टेलिभिजन सेट खरिद गर्दा हस्तान्तरण गर्दा कुल एक लाख २ हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा अगाडी भनिएको छ, ‘नगरपाकिलाले कला संस्कृतिलाई संरक्षण गर्ने उद्देश्यले खुला नृत्य प्रतियोगिता तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएकोमा ४ जना विजेताहरुलाई पुरस्कार तथा कार्यक्रममा सहभागी महिलाहरुका लागि चिया खाजा गरि ६२ हजार रुपैयाँ, जिल्ला कारागार सोलुखुम्बुमा रहेका महिला कैदी बन्दीहरुका लागि ४० हजार रुपैयाँ बराबरको टेलिभिजन हस्तान्तरण गरि एक मुष्ट एक लाख २ हजार रुपैयाँ खर्च भएको छ ।’

नगरपालिकाले जारी गरेको विज्ञप्तीमा स्थानीय रेडियो हिमाल एफ एम र आर्थिक राष्ट्रिय दैनिक नामक संचार संस्थाको नाम नै किटेर सो सम्वन्धमा अतिरन्जीत समाचार सम्प्रेषण गरेको उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्