शिक्षा बिधेयकमा अर्थतन्त्रले धान्न नसक्ने मागहरू सम्बोधन गर्न सकिंदैन : उपप्रधानमन्त्री खड्का
काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको अर्थतन्त्रले धान्न सक्ने र मुलुकको संविधानले परिकल्पना गरेको शिक्षाको व्यवस्थाको प्रतिकुल नहुने गरी संसद्मा दर्ता भएको शिक्षा विधेयककोबारेमा छलफल गर्न सरकार तयार रहेको बताएका छन् ।
राष्ट्रिय शिक्षा दिवसको अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रधानमन्त्रीसमेत
रहेका खड्काले प्रस्तुत विधेयकमा सबैका सुझाव छलफल गरेर हदैसम्म समावेश गर्ने प्रयास गरेको उनको भनाइ थियो।
बिधेयकमा देखिएको उनले छलफल र सहकार्यबाट समाधान सबै कुरा समाधान गर्न सकिने बताए । कार्यवाहक प्रधानमन्त्री खड्काले मुलुकको वर्तमान अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेकाले अहिलेको अर्थतन्त्रले धान्न नसक्ने मागलाई सम्बोधन गर्न नसकिने स्पष्ट पारे । उनले थपे, ‘छलफल र सहकार्यबाट समाधान सबै कुरा गर्न सकिन्छ । अहिलेको मुलुकको वर्तमान अर्थतन्त्र अप्ठ्यारो अवस्थामा छ, ऋणात्मक छ, अहिलेको अर्थतन्त्रले धान्न नसक्ने माग र मुलुकको संविधानले व्यवस्था गरेको भन्दा परको माग बाहेक सबै कुरा हामी छलफलबाट समाधान गर्न तयार छौँ । मुलुकको अर्थतन्त्रले धान्न नसक्ने मागहरू, मुलुकको संविधानले परिकल्पना गरेको शिक्षाको व्यवस्थाको प्रतिकुल नहुने गरी यी दुई कुरा बाहेक सबै कुरामा सरकार संसद्मा दर्ता भएको विधेयकका बारेमा छलफल गर्न, समाधान निकाल्न र सबै कुरा मिलाउन सरकार तयार छ ।’
कार्यवाहक प्रधानमन्त्री खड्काले सरकारले शिक्षा क्षेत्रमा रूपान्तरणको आवश्यकता महसुस गरेको जिकिर गरे । उनले प्राथमिक तहदेखि विद्यालय तहसम्मको भौतिक पूर्वाधार सुधार, पाठ्यक्रम परिमार्जन, अध्ययन, अध्यापनको पद्धतिमा सुधार, परीक्षा प्रणालीको नतिजा व्यवस्थापनमा सुधारका प्रयासहरू भइरहेको पनि बताए ।
यस्तै, शैक्षिक कार्यतालिकालाई पूर्वानुमान योग्य बनाउने सन्दर्भमा समयमा नै भर्ना, परीक्षा सञ्चालन र नतिजा प्रकाशन गरी विश्वविद्यालयहरूको एकीकृत र शैक्षिक कार्ययोजना तयार भएको उनको भनाई थियो । file foto