राष्ट्रिय बाल दिवसको अवसरमा ‘बालबालिकासंग मेयर’ तथा निबन्ध र बक्तृत्वकला प्रतियोगिता सम्पन्न



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।राष्ट्रिय बाल दिवसका अवसरमा
सदरमुकाम सल्लेरीमा’आधारभूत तहमा समावेशी शिक्षा आजको आवश्यकता’ शिर्षकमा निबन्ध तथा माध्यमिक विद्यालयस्तरीय ‘लैंगिकमैत्री विद्यालय निर्माणमा बाल क्लबको भूमिका’बिषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

रीड नेपाल र सोलुदुधकुण्ड नगरपालिकाको सँयुक्त आयोजनामा शुक्रबार सम्पन्न प्रतियोगितामा निबन्धतर्फ सहभागी १८ जनामध्ये ह्वाइटहिल्स बोर्डिङ स्कुलकी छात्रा स्वस्तिका राई प्रथम,गार्मा माविकि छात्रा अनिसा कुलुङ द्वितीय भिमसेन माविकी छात्रा गोमा भुजेल तृतीय र सान्त्वना जनजागृति आविका मिलन राई भएका थिए।

त्यस्तै,माध्यमिक विद्यालयस्तरीय वक्तृत्वकलातर्फ सहभागी १९ जना मध्ये गार्मा माविकी छात्रा सपना बस्नेत प्रथम,बालेश्वर माविकी छात्रा कान्छी माया शेर्पा द्वितीय, चागेस्थान माविकी छात्रा तृतीय र जनजागृति माबिकि छात्रा जानुका लामिछानेले सान्त्वना स्थान प्राप्त गरेको रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले जानकारी दिए।प्रतियोगिताका बिजयीहरुलाई क्रमश:८ हजार,६ हजार,४ हजार र ३ हजार नगद र प्रमाणपत्र वितरण गरिएको थियो।

‘लगानी सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ यस बर्ष मनाईएको राष्ट्रिय बाल दिवसकै अवसरमा ‘बालबालिकासंग मेयर’ अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरियो। कार्यक्रममा बालबालिकाहरुले विद्यालयसंग सम्बन्धित विभिन्न समस्याहरु लैंगिकमैत्री शौचालय, खेलमैदान, विज्ञान प्रयोशाला, शिक्षक अभाव,फोहर व्यवस्थानबारे सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पासंग जिज्ञासा राखेका थिए भने मेयर शेर्पाले करिव १५ जना विद्यार्थीको प्रश्नको उत्तर दिएका थिए।

मेयर शेर्पाले आफ्नो प्राथमिकतामा शिक्षा रहेको बालबालिकाको भविष्यप्रति आफु सचेत रहेको भन्दै समस्या समाधानमा नगरपालिका लागि पर्ने बिश्वास दिलाएको गिरीको भनाई छ।

प्रतिक्रिया दिनुहोस्