पदक तथा विभूषण बितरण स्थगित, थप ब्यबस्थित र मर्यादित बनाउन अध्ययन कार्यदल गठन गर्ने निर्णय



काठमाडौं। सरकारले संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट प्रदान गरिने पदक तथा विभूषण बितरण स्थगन गर्ने निर्णय गरेको छ। शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट प्रदान गरिने विभूषण वितरण स्थगित गर्ने निर्णय गरेकाे हाे।

हरेक पटकको विभूषण वितरणमा व्यापक आलोचना हुने गरेको परिस्थितिलाई नीति, मापदण्ड र प्रक्रियागत रूपमै आलोचनारहित बनाउन सरकारले त्यस सम्बन्धि सुझाव कार्यदल बनाउने भएको छ। संविधान दिवसको अवसरमा विभूषण प्राप्त गर्नेको नाम सार्वजनिक हुने आम अनुमानविपरीत सरकारले यसपालि त्यसलाई स्थगित गरेको सूचना तथा सञ्चारमन्त्री एबमा सरकारका प्रबक्ता रेखा शर्माले जानकारी दिइन।

‘संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवम् थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेश गर्ने गरी कार्यदल गठन गर्ने, हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने,’ मन्त्रिपरिषद् बैठककाे निर्णयमा भनिएकाे छ।

विभूषणका लागि अयोग्यहरूले प्रभावका आधारमा मरिहत्ते गर्ने, विभूषित हुनुपर्नेहरूले भने त्यसको ओजलाई नै ‘सस्तो’ ठान्ने अवस्थाबीच हरेक चरणको विभूषण वितरण आलोचित हुँदै आएको छ। अब त्यसलाई नीतिगत रूपमै सच्याउन मन्त्रिपरिषद निर्णयबमोजिम तत्कालै सुझाव कार्यदल गठन गरिने जानकारी गृहमन्त्रालयको उच्च स्रोतले दिएको छ।

प्रतिक्रिया दिनुहोस्