दुई छोराले दिए नेम्बाङको पार्थिव शरीरमा दागबत्ती,प्रचण्डले राष्ट्रिय झण्डा र ओलीले ओडाए पार्टीको झण्डा
काठमाडौं । संविधानसभा अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानसहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

नेता नेम्वाङको हिन्दू र लिम्बू संस्कारअनुसार अन्त्येष्टि गरिएको हो। नेम्वाङको पार्थिव शरीरमा उनका दुई छोरा मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरुले संविधानसभाका अध्यक्ष एवं नेकपा एमाले का उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन्।
प्रधानमन्त्री दाहालले पशुपति आर्यघाटमा राष्ट्रिय झण्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गरे। यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरे।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित विशिष्ट व्यक्तिहरुले नेम्वाङलाई श्रद्धाञ्जलि व्यक्त गरे।
अन्त्येष्टिअघि राजकीय सम्मानस्वरुप नेपाल सेनाको टुकडीले अन्तिम सलामी दिएको थियो।

